भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।

उनी अगष्ट २१ तारिखमा नेपाल आउन लागेका हुन् । दुई दिने भ्रमणका लागि जयशंकर (भदौ ४ र ५ गते) नेपाल आउन लागेको स्रोतले बताएको छ ।

दुई देशीय हितका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वैठक हुँदै आएको छ ।

आलोपालो शैलीमा यो वैठक हुँदै आएकामा नेपालमा हुने वैठकका लागि एस जयशंकर नेपाल आउन लागेका हुन् ।

यो बैठकमा नियमित बिषयका साथै बाढीडुवानको समस्या लगायतका विषयमा पनि आपसी सहमतिमा निकास  निकाल्न प्रयास हुने बुझिएको छ ।

जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका बारेमा पनि कुराकानी हुने बताइएको परराष्ट्र स्रोतले बताएको छ । भारतीय राष्ट्रपति निकट भविष्यमै नेपाल आउँदै छन् ।

जयशंकर यसअघि नै नेपाल आउने कार्यक्रम रहेको थियो । तर भारतमा संसद बैठक चलिरहँदा अनिवार्य सहभागीता जनाउनु पर्ने भएकाले नेपाल भ्रमणमा केही समय ढिलाइ हुन गएको भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले यसअघी संवाददाताहरुसँग बताएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी पहिलेनीति लिएर दोस्रो कार्यकाल शुरु गरेको सन्दर्भमा जयशंकरको यो भ्रमण महत्वपूर्ण हुने अनुमान कुटनीतिक वृत्तमा गरिएको छ।