कस्मिरबारे दिल्लीमा नेपाललाई ब्रिफिङ : भारतको कदमले दक्षिण एसियामै शान्ति हुन्छ

maitrinews

 

भारतले जम्मु–कस्मिर पुनर्गठन विधेयकमार्फत केन्द्रशासित दुई अलग राज्य गठन गर्ने निर्णयबारे नेपाललाई औपचारिक जानकारी गराएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यलाई मंगलबार भारतीय विदेश मन्त्रालय ९साउथ ब्लक० बोलाएर विदेशसचिव विजयकेशव गोखलेले घटनाक्रमबारे जानकारी दिएका हुन् । जम्मु–कस्मिरको विकास र स्थायित्वका लागि चालिएको कदमले दक्षिण एसियाकै शान्तिका लागि सहयोग पुग्ने विश्वास भारतको छ ।

‘भारतका विदेशसचिव विजयकेशव गोखलेजीले हामीलाई जम्मु–कस्मिरका सम्बन्धमा भएको निर्णय, त्यसको पृष्ठभूमि बताउनुभयो,’ मंगलबारको कूटनीतिक भेटवार्ताबारे राजदूत आचार्यले दिल्लीबाट टेलिफोनमा भने, ‘कस्मिरका जनताको विकासको चाहनालाई सम्बोधन गर्न र स्थायित्व हासिल गर्न संवैधानिक कदम चालिएको भन्ने उहाँहरूको भनाइ छ ।’

भारतले कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्ने संवैधानिक प्रावधान रहेको संविधानको धारा ३७० को व्यवस्था खारेजको निर्णय गरेपछि सुरुमा राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकका कूटनीतिज्ञलाई जानकारी दिएको थियो । त्यसपछि पाकिस्तानबाहेकका छिमेकी मुलुकका राजदूतलाई बेग्लाबेग्लै बोलाएर जानकारी दिएको थियो । ब्रिफिङमा भारतीय विदेशसचिव विजय केशव गोखले, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने सहसचिव पीयूष श्रीवास्तवलगायत थिए । नेपालका राजदूत आचार्यसँग उपनियोग प्रमुख भरतराज रेग्मी साथमा थिए । स्रोतका अनुसार भारतीय अधिकारीले कस्मिरबारे लिइएको निर्णयले दक्षिण एसियाकै शान्तिका लागि योगदान दिने ब्रिफिङ राजदूत आचार्यलाई दिएका छन् ।

राजदूत आचार्यले भारतलाई नेपालका तर्फबाट दिएको जवाफ भने बताउन चाहेनन् । ‘नेपालको पोजिसनबारे मैले बताउने होइन, परराष्ट्र मन्त्रालयले बताउँछ,’ आचार्यले भने । तर, परराष्ट्र स्रोतका अनुसार घटनाक्रमलाई नेपालले भारतको आन्तरिक मामिला भनेको छ । ‘यो भारतको आन्तरिक मामिला हो । हामी भारतको स्थिरताका पक्षमा छौँ भन्नेबाहेक अरू धारणा हाम्रो छैन,’ जानकार नेपाली कूटनीतिक अधिकारीले भने । प्र