राजधानी हेटौँडामै राख्नुपर्छ भन्ने मेरो जिकिर छैनः मुख्यमन्त्री पौडेल

Mohan Bastola

काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउनु भएको छ । काठमाडौंको सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको स्थायी राजधानी हेटौडा हुनैपर्छ भन्ने मान्यतामा आफू नहरेको प्रष्ट पार्नुभयो । यद्यपि, उहाँले मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायाँमा प्रदेशको राजधानी बनाउन नहुने जिकिर भने गर्नुभयो । अबको केही दिनभित्रै प्रदेश ३ को नाम र राजधानी तोक्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सबैभन्दा ठूलो जिज्ञासा राजधानीको सन्दर्भ र नामको सन्दर्भ छ । मैले के अनुरोध गरें भने घरपायकका आधारमा राजधानी रहँदैन । मैले चाहेर हुने भए त स्वाभाविक रुपमा हेटौंडामा हुनुपर्छ भनौंला । किनभने, मेरो घर त्यहीँ छ, मैले बाहिर भन्न अलि मिल्दैन,’ मुख्यमन्त्री पौडेलले भन्नुभयो, तर, म एउटा कुरा के प्रष्ट पार्छु भने राजधानीका विषयमा मेरो आफ्नो लजिक छ । जबर्जस्त लजिक छ । त्यो के हो भने मैले हेटौंडा नै चाहिन्छ भन्दिनँ, तर राजधानी काठमाडौंमा चाँहि हुँदैन । यो मेरो निर्णय हो ।’

संघीय राजधानी रहेको काठमाडौंमा प्रदेश राजधानी राखिए सिंहदरवारको छाँया पर्ने उहाँले तर्क गर्नुभयो । ‘यो पपुलेसनलाई हामीले कसरी बाहिर लैजान सक्छौं ? कसरी बाहिरको क्षेत्रलाई विकास गर्ने ? यी सबै मान्छे काठमाडौंमा आउने र काठमाडौं अस्तव्यस्त शहरको रुपमा रुपान्तरण हुने कुराको अन्त्य गर्न सबभन्दा पहिले राजधानीको पपुलेसनलाई डाइभर्ट गर्नुपर्छ । यो एउटा वैज्ञानिक आधार हो । अब २०–२५ वर्षसम्म यिनै कुरा गरेर म आएँ । अब फेरि राजधानीलाई ल्याएर काठमाडौंमै राख्नुपर्छ भनेर मैले भनें भने मेरो २० वर्षको इतिहास, मैले जे कुरा गरें, जे लगानी गरें, त्यो खेर जान्छ,’ मुख्यमन्त्री पौडेलको भनाई थियो ।

‘नुवाकोट राख्दा पनि कुनै आपत्ति छैन । हेटौंडा नै राख्नुपर्छ भन्दिनँ म । रामेछापमा यदि सम्भावना छ भने त्यहाँ पनि जाऔं । तयार होऔं । तर, के भने राजधानी हामी यस्तो ठाउँमा लैजाऔं, जहाँ त्यो क्षेत्रको पनि विकास हुन सक्छ, जनताले काठमाडौं बाहिर पनि देश हो भनेर सोच्नुपर्छ । हामीले त्यही सेवा र सुविधा दिन सक्यौं भने काठमाडौंमा जनता धेरै आउँदैनन् । योचाहिँ मेरो एउटा दृढ कुरा हो,’ पौडेलको भनाई थियो ।