नेपाली नागरिकता: विदेशी बुहारीलाई ढिलो दिन थालिए छोराले सीमापारि भारतमा ‘दुलही नपाउने’

काठमाडौँ ।  विद्यमान कानुनमा नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल अङ्गीकृत नागरिकता दिने व्यवस्था छ।

सो व्यवस्था फेरेर अङ्गीकृत नागरिकताका लागि सात वर्षको समय राख्ने कुरा उठेपछि तराई मूलका नेता तथा सांसदहरूले आपत्ति प्रकट गरेका छन्।

त्यस्तो परिवर्तनबाट परम्परागत रूपमा नेपाल-भारत सीमावारिपारि बस्ने मानिसहरूको वैवाहिक सम्बन्ध प्रभावित हुन सक्ने उनीहरूको तर्क छ।

सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने हो भने आफ्ना छोराहरूसँगै बिहे गर्ने केटी पाउनै कठिन हुने राष्ट्रिय जनता पार्टी (राजपा)की सांसद चन्दा चौधरीको भनाइ छ।

उनी भन्छिन्, “सात वर्ष नेपालमा काम, अध्ययन, ब्याङ्क कारोबार केही पनि गर्न नसकिने भएपछि हाम्रा छोराहरूलाई भारतबाट छोरी दिन कसले मान्छ? यसबाट त समस्यामाथि समस्या हुन्छ।”

नागरिकतासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसद्‌मा दर्ता भएको एक वर्षभन्दा बढी भइसकेको छ। तर वैवाहिक सम्बन्धका आधारमा दिइने अङ्गीकृत नागरिकताको विषयमा कुरा अड्किएको छ।

राज्य व्यवस्था समितिले उक्त विधेयकमा रहेका फरक मतलाई मिलाउने उद्देश्यसहित एउटा उपसमिति पनि बनायो।