गौहत्या प्रकरणबारे छानविन समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले सुर्खेतमा भएको गौहत्या प्रकरणबारे छानबिन गर्नका लागि छानबिन समिति गठन गरेको छ।
गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
छानबिन गरी प्रतिवेदन १५ दिनभित्र बुझाउन गृहले निर्देशन गरेको छ।
शव व्यवसथापनको जिम्मेवारी वीरेन्द्र नगर नगरपालिकालाई जिम्मा दिइएको छ।
बुधबार राति वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा गाई भिरबाट खसालिएको भेटिएको थियो। त्यहाँ १६ वटा गाईगोरु मरेका छन्। ७ वटा गम्भीर घाइते छन्। १०० भन्दा धेरै गाईगोरु कटकुवामा बेवारिसे समेत भेटिएका थिए।
नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर २९१ वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो। ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको भेटिएको छ।
एक सय गाई नेपालगञ्ज फिर्ता
वीरेन्द्रनगरको कटकुवा क्षेत्रमा बेवारिसे छोडिएकामध्ये १०० वटा गाई नेपालगञ्ज फिर्ता पठाइएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार १०० गाई शुक्रबार साँझ नै नेपालगञ्ज फिर्ता पठाइएको हो।
बाँकी गाई पनि पठाउने तयारी भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए।
नियन्त्रणमा लिइएका पाँच वटा ट्रक र चालकलाई भने जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको उनले बताए।