गुठीका बारेमा साझा धारणा बनाएर अघि बढौँः मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राजनीतिक आस्था र व्यक्तिगत कारणले महानगरपालिका भित्रका संम्पदा पुर्ननिर्माणमा केही समस्या भएको गुनासो गर्नुभएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । ‘काष्ठमाण्डप, धरहरा र रानीपोखरी छिटो सम्पन्न गर्नुपर्छ भनेर म निर्वाचित भएदेखि नै निरन्तर लागेको छु,’ मेयर शाक्यले भन्नुभयो, ‘तर, केहीले राजनीतिक आस्थाका कारण र केहीले चाँहि ठेक्का–पट्टा उनीहरुलाई परेन भनेर अवरोध गरे । त्यसले केही समस्या भयो ।’ उहाँले पुरातत्व विभागले पनि सकारात्मक भूमिका खेल्न नसक्दा थप समस्या भएको गुनासो गर्नुभयो । ‘पुर्ननिर्माणको काम समयमा सम्पन्न भएन भने लागत पनि बढेर जान्छ,’ उहाँले भन्नुभयो, ‘तर, केहीले सरकार असफल बनाउन केहीलाई उक्साउने प्रवृत्तिका कारण समस्या भयो ।’

मेयर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा आफू दत्तचित्त भएर लागेको पनि बताउनुभयो । परम्परा धान्ने कुरामा म कुनै पनि कमी हुन दिन्न,’ उहाँले भन्नुभयो, ‘संस्कृति, परम्परा हाम्रा अमूल्य नीधि हुन् ।’ उहाँले इन्द्रजात्रालाई यो पटक अन्तराष्ट्रियस्तरमा चिनाउने गरी मनाउन लागेको पनि जानकारी दिनभुयो । ‘यो पटक हामीले इन्द्रजात्रालाई अन्तराष्ट्रियकरण गर्दै छौँ,’ उहाँले भन्नुभयो, ‘विभिन्न देशका मेयर र प्रतिनिधिलाई इन्द्रजात्रा अवलोकन गर्न बोलाएका छौँ । यो उनीहरुलाई नेपाल चिनाउने अवसर पनि हो ।’ शाक्यले गुठी विधेयकका बारेमा पनि साझा धारणा बनाएर जानु पर्नेमा जोड दिनुभएको छ । ‘गुठी विधेयकका बारेमा मैले साथीहरुलाई बारम्वार साझा धारणा बनाएर ल्याउनुहोस् म मेयरको नाताले अगुवाइ गर्न तयार छु भनेको छु,’ काँग्रेस सांसद भीमसेन दास प्रधानले गुठीका बारेमा महानगरपालिकाको धारणा मागेपछि मेयर शाक्यले भन्नुभयो, ‘यो भन्दा पहिला पनि मैले समस्याको समाधान खोज्नुपर्छ भनेर प्रधानमन्त्रीज्युलगायतलाई भेटेको हुँ । अहिले पनि समस्याको समाधान गरेर अघि बढ्ने कुरामा मेरो तर्फबाट कुनै पनि असहयोग हुँदैन । गुठीको सास्कृतिक सम्पदा बचाउन महानगर तयार छ ।’