तरुण दलमा भाँडभैलो

maitrinews

काठमाडौं ।  नेपाल तरुण दलका अध्यक्ष र महासचिवको विज्ञप्ती युद्धले तरुण दलको भाँडभैलो छताछुल्ल भएको छ । महासचीव भुपेन्द्रजंग शाहीले भदौ २४ गते निकालेको वक्तव्यपछि सुरुभएको वक्तव्य युद्ध भदौ २५ गते अध्यक्ष जीतजंग बस्नेतले निकालेको सूचना र सोको जवाफमा महासचिव शाहीले जारी गरेको वक्तव्यसम्म आइपुग्दा थप छताछुल्ल भएको हो । महासचिव शाहीले भदौ २४ गते नेपाल तरुण दल सिन्धुपालचोकका उपाध्यक्ष सगुन श्रेष्ठलाई कार्वाही फुकुवा गरेको परिपत्र गरेका थिए । उनले सप्तरीका सीता प्रसाद यादवलाई अधिवेशन गर्नेसम्मको म्याण्डेट दिएर  जिल्ला अध्यक्षमा  मनोनित गरेको पत्र पठाएका थिए ।

नेपाली कांग्रेसले भदौ २४ गतेबाटै सुरु गरेको जनजागरण अभियानलाई नौटंकीको संज्ञा दिदै भ्रष्टाचार बिरोधी अभियान सुरु गर्न परिपत्र गरेका शाहीले राजनैतिक लडाइ लड्ने मनशायले नै अध्यक्ष बस्नेतसँगको दुरी बढाउन खोजेको देखिएको छ । यस क्रममा उनले अध्यक्ष बस्नेतसँग मात्रै मोर्चा खोलेका छैनन्, सिंगो पार्टी नेतृत्वलाई नै ललकारेका छन् ।