आज इन्द्रजात्रा उपत्यकामा हर्षोल्लासका साथ मनाइदै

maitrinews

ईन्द्रजात्रा अर्थात नेपाल भाषामा ’येँया पून्हि’, काठमाडौ उपत्यकासहित देश विभिन्न स्थानमा ठूलो चाडहरुमध्य एक हो । किम्बदन्तीअनुसार स्वर्गका भगवान् इन्द्र आमाको व्रतका लागि आवश्यक पारिजातको फूल र कर्कलो चोर्न मानव रूप धारण गरी काठमाडौं शहरमा आएका थिए । उनले मालीलाई सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर लढाए । काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ । यसरी आफ्नो लागि काठमाडौंवासीको बन्धनमा पारेका छोरा इन्द्रलाई मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आइन । छोरालाई छाडेको साटो कुहिरो दिने वाचा गरिन । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने किंवदन्ति छ । इन्द्रजात्रामा लिंगो (ध्वजा) स्थापना गर्ने र उल्लासपूर्ण माहौलमा रथयात्रा गर्ने गरिन्छ
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको जनविश्वास छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।