छल गर्ने इन्द्रकै नाममा मनाइने इन्द्रजात्रा

Mohan Bastola

                                                                                सन्ध्या बज्राचार्य

इन्दजात्रा पर्वको विशेष महत्व रही आएको छ । यो पर्वको महत्वका बारेमा केही प्रष्ट पारिदिनुहोस् न ?

किराती शब्द “यंमाद्यः” भन्नाले इन्द्र देवता हो । “यं” भन्नाले इन्द्र र “याः” भन्नाले जात्रा अर्थात “यंयाः” ले इन्द्रजात्रा भन्ने बुझिन्छ । यस्तै काठमाडौंलाई स्थानीय भाषामा “यें” भन्ने गरिन्छ । र “याः”को अर्थ जात्राहो त्यसैले “येंयाः” को अर्थ काठमाडौंको जात्रा भन्ने अर्थमा पनि इन्द्रजात्रालाई लिइने गरिन्छ । यो पर्वलाई लगातार आठ दिनसम्म मनाउने परम्परा रहिआएको छ । यो पर्व प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्षको द्वादशीका दिन हुनमान ढोका परिसरमा यः सिं अर्थात इन्द्रध्वज उठाएपछि सुरु हुन्छ । यो पर्व काठमाडौंमा रहेका प्रमुख समुदायहरुको सहभागितामा सामुहिक रुपमा मनाउने पर्व हो । यो जात्रानै यस्तो एउटा जात्रा हो जसमा काठमाडौंका विभिन्न जातजातिहरु सवैलाई आआफ्नै जिम्मेवारी दिएर सहभागी गराईएको हुन्छ । यसैले यसलाई मल्लकालमा काठमाडौं राज्यको राष्ट्रिय पर्वका रुपमा मनाइएको पाइन्छ । यो जात्रा राजा गुणकामदेवले दशौं शताब्दीमा चलाईएको भन्ने इतिहासमा उल्लेख भएता पनि यो जात्रामा विशेष रुपमा इन्द्र, भैरव आदि देवताको गरिने पूजा आजा र ती देवताहरुलाई दिएको महत्वलाई हेर्दा र इन्द्र अर्थात् “यं” शब्दनै किराती शब्द भएको हुनाले इन्द्रजात्रा संभवत किरात कालमानै प्रारम्भ भैसकेका र यसलाई गुणकामदेवले थप परिस्कृत मात्र गरेको हुन सक्दछ । यसबारे थप अनुसन्धान गर्न बांकिछ । यसैले पनि परापूर्वकाल देखि निरन्तर रुपमा चलिआएको विश्वकै एक मात्र सवभन्दा पूरानो जात्राको रुपमा यो जात्रा अझ बढी महत्वपूर्ण रहेको छ ।
यो जात्रामा कस्ता गतिविधिहरु हुन्छन् ?

इन्द्रजात्रामा इन्द्रध्वज फहराउने मात्र होइन यो सँगै अरु विभिन्न परम्पराहरु पनि निकै आकर्षण र रोचक छन् । यंसिं थनेगुँ भनि एउटा सालको रुखकाटेर ल्याइएको करीब ३२ हातलामो काठलाई हनुमान ढोखामा ठड्याइन्छ । व्दादशीको दिन त्योे ठड्याउने वित्तिकै इन्द्रजात्रा सुरु भएको मानिन्छ । त्यसै दिनको साँझ उपाकु जाने चलन रहेको छ । आफ्ना परिवारमा दिवंगत हुन भएकाहरुको सद्गतिका कामना गर्दै बोद्ध समुदायका मानिसहरु धुपबाल्दै, पाल्चा(दियो) बाल्दै बाटोमा ठाउं ठाउँमा राख्दै स्त्तोत्र पाठ गर्दै उपाको जाने रुटमा जाने चलन रहेको छ ।

त्योसँगै यसको अर्को आकर्षण भनेको लाखे, पुलुकिसी, सवाःभक्कु (हल्चोक भैरव), महांकाली नाच, दश अवतार प्रदर्शन, बहुमत लाने, दांगी जाने, अनि कुमारी, गणेश र भैरवको रथ यात्रा आदी हुन् । यस्तै हरेक टोलटोलमा भैरव (श्वेत भैरव, आकाश भैरव) को प्रतिमा प्रदर्शन गर्ने चलन छ । यस्तै पूर्णिमाको दिन साँझ टोल टोलमा समयबजी दिने चलन रहेको छ ।

यो जात्राको थालनी चाँहि कहिलेबाट भयो भन्ने बारेमा केही बताइदिनुहोस् न ?

मैले अघि पनि भने यो जात्रा किराँतकालदेखि नै चलिआएको परम्परा हुनसक्दछ । यसको निकै घतलाग्दो किम्बदन्ती छ । किम्बदन्ती अनुसार इन्द्रकी आमाले बसुन्धारा व्रत राख्नका निम्ति चाहिने पारिजात फूल ल्याउनका लागि आफ्नो छोरा इन्द्रलाई भनेका थिए । उक्त व्रतका लागि आमाको आज्ञा अनुसार पारिजातको फूल खोज्न इन्द्र स्वर्गबाट धर्तीमा आएछन् । इन्द्र धर्तीमा पारिजात फूल खोज्दै जाँदा पारिजात फूल ढकमक्क फुलिरहेको देखेर कसैको अनुमति वेगर फूल टिपेछन् । धर्तीमा आएका इन्द्रले त्यो पारिजात फूल कसैलाई पनि नसोधी टिपेछन् । त्यसपछि सबैले इन्द्रलाई चोर भन्ठानी समातेर चौवाटोमा बाँधेर राखेछन् । इन्द्रलाई चोरका रुपमा पानीमा समेत डुवाएर राखेछन् त्यसैको सम्झनामा १०–१२ वर्ष अघिसम्म पनि मरुहिःटीमा एउटा काठलाई इन्द्र मानी डुवाई राख्ने चलन थियो । अहिले भने त्यो परम्पराले निरन्तरता पाएन । यसरी ब्रतका लागि पारिजात खोज्न हिँडेका इन्द्र नफर्केपछि आमा पनि छोराको खोजि गर्दै धर्तीमा भौतारिन थालिछिन् । इन्द्रकी आमा दांगी इन्द्रको खोजी गर्दै काठमाडौंमा यत्रतत्र खोज्न थालेछिन् । त्यसपछिमात्र मात्र स्थानीयले ‘ओहो हामीले बाँधेर राखेका त इन्द्र देवता रहेछन्’ भनी थाहा पाए र माफी पनि मागेछन् ।
किम्बदन्ती अनुसार नै इन्द्रलाई समातेर राखेका स्थानीयले इन्द्रलाई छोड्नका लागि इन्द्रकी आमा दागिंसँग एउटा शर्त राखे । स्थानीयले इन्द्रलाई छुटाए वापत उनीहरुका देहान्त भएका परिवारलाई भेट्न उनीहरु पनि स्वर्गमा इन्द्रसंगै जान पाउनु पर्ने भनेछन् । स्थानीयको सोही सर्तलाई मानेपछि इन्द्रलाई छोडिदिए । त्यसपछि इन्द्रकि आमा दागिंसँग स्थानीयहरु स्वर्गमा आफन्त भेट्न बिज छर्दै पछिपछि लागेर गए । र यंकि दह (अहिले त्यसलाई इन्द्र दह पनि भनिन्छ) पुगेपछि इन्द्रले आफन्त भेट्न स्वर्ग जाने हो भने शुद्ध भएर जानुपर्छ र त्यही यंकि दहमा सबैले स्नान गर्नुपर्छ भनी सबै स्थानीयहरुलाई त्यही दहमा नुहाउन लगाएछन् । स्थानीय पनि आफन्त भेट्न स्वर्ग जाने लालायित हुंदै स्नान गर्न थालेछन् । चलाख इन्द्रले छल गरेर बादल (हुस्सु) पैदा गरी स्थानीयहरुले नदेख्ने गरी आमाछोरा नै अन्तर्रध्यान भएछन् । यसपछि स्थानीयहरु आफूलाई इन्द्रले छल गरेको बुझी त्यहीं दहमा स्नान गरी घर फर्केछन् । यही परम्परालाई सम्झदैं अहिले सम्म पनि कुमारीको रथयात्रा पछि दांगि निकाल्ने चलन छ र दांगि संगै सवै ब्रतालुहरु इन्द्रदहसम्म गएर त्यहाँ स्नान गरी फर्कने चलन रहेको छ । र इन्द्र देवता यहाँ आएको सम्झनामा उनका सम्मान खातिर इन्द्रध्वज फहराई इन्द्रजात्रा मनाउने गरेको हो ।

इन्द्रजात्रामा उठाउने यःसिं अर्थात इन्द्रध्वज बारे पनि विभिन्न खाले चर्चा हुने गरेको छ । यो विषयलाई पनि प्रष्ट पारिदिनुुस न ?

हो, यःसिं अर्थात इन्द्रध्वज बारे पनि निकै रोचक कथन छ । अहिले पनि काभ्रेपलाञ्चोक जिल्लाको नालाको योसिंगँु (नेवारी भाषमा योसिंको अर्थ झण्डा फहराउन प्रयोग गरिने काठ र गुँको अर्थ बन) बाट ल्याउने चलन छ । त्यो लिंगो पनि त्यत्तिकै ढालेर होइन साइत हेरी तान्त्रिक विधिबाट पूजा गरी उक्त बनमा बोको छाड्ने चलन छ । त्यसरी छाडेको बोकाले छोएको सल्लाको रुख ढाल्ने र पूजा आजा गरि उक्त रुखका हाँगाहरु काटि रुख सिंगै तानेर गुर्जुपल्टनका साथ राजकिय सम्मानका साथ ल्याउने चलन रहेको पाइन्छ । र काठमाडौंको हनुमान ढोखामा पुगे पछि साइत हेरि भाद्रशुक्ल व्दादसीका दिन सबै विधि पूरा गरेपछि साइतमा विहानतिर यंसिं ठड्याईन्छ । त्यो यंसिंको टुप्पोमा गजुर सहित इन्द्रध्वज राखिएको हुन्छ । त्यहि दिनदेखि सुरु भई ८ दिनसम्म इन्द्रजात्रा मनाईने गरिन्छ । यो सवै प्रकृया मानन्धर समुदायको जिम्मेवारीमा सम्पन्न हुन्छ ।

इन्द्रजात्रा र कुमारीको सम्वन्ध खास के–हो ?

यसको पनि निकै रोचक इतिहास छ । जयप्रकास मल्लले विक्रम सम्वत १८१४ तिर कुमारी घर निर्माण गर्न लगाई एकबर्षपछि कुमारीलाई हस्तान्तरण गरे । उक्त हस्तान्तरण गर्ने समारोहमा काठमाडैंका विभिन्न विहारमा रहेका कुमारीहरुलाई पनि आमन्त्रण गरी ठूलो पूजा लगाई सिकंमूबहाको कुमारीलाई राजकीय कुमारीको रुपमा सम्मान गरी उनलाई कुमारी घर प्रदान गरिएको थियो । काठमाडौ उपत्यकामा कुनै पनि महत्वपूर्ण पर्वहरु कुमारीलाई दर्शन गराउने प्रचलन रहेको पाइन्छ । त्यसैले इन्द्रजात्रा पनि कुमारीलाई दर्शन गराउनका लागि कुमारीलाई शहर परिक्रमा गर्ने गर्दथ्यो । कुमारीलाई शुरुमा खट्मा राखेर नगर परिक्रमा गराई इन्द्रजात्रा देखाईन्थ्यो । पछि जयप्रकाश मल्लले कुमारीको सम्मानका खातिर रथमा राखी नगर परिक्रमा गर्ने चलन चलाए । अनि श्री गणेश र श्री भैरवको रथ यात्रा भने शाहराजा रणवहादुर शाहदेखि मात्र प्रारम्भ भएको पाइन्छ । यसरी कुमारीलाई इन्द्रजात्रा देखाउन कै निम्ति कुमारी लगायत गणेश र भैरवको पनि रथ यात्रा शुरु भएको देखिन्छ ।

अलिकति थोरै अहिलेको अवस्थाको बारेमा पनि चर्चा गरौँ । जस्तो अहिले पनि इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रप्रमुखलाई बोलाउने चलन छ । यो परम्परा पहिलादेखि नै हो कि पछि शुरु भएको हो । यसबारेमा पनि प्रष्ट पार्दिनु न ?

यसरी राष्ट्रप्रमुख आउने चलन अहिलेको होइन परम्परादेखिकै चलन हो । त्यसैले यसलाई यही रुपमा बुझ्नुपर्छ भन्ने लाग्छ । किराँतकालदेखि चलिआएको यो पर्व अहिले आएर अन्तराष्ट्रिय महत्वको पर्वका रुपमा विकास भएको छ । यो निकै ऐतिहासिक कुरा हो । यो पर्व अहिले नेपालको पर्यटनका लागि समेत आकर्षण बन्न पुगेको छ । वर्तमान मेयर विद्यासुन्दर शाक्यज्युले विभिन्न देशका मेयर र प्रतिनिधलाई बोलाएर यो वर्षबाट यस पर्वलाई अन्तराष्ट्रिय रुपमा पनि चिनाउने प्रयास गर्नुभएको छ । यो अझ खुशीको कुरा हो । यसले हाम्रो संस्कृति र परम्परालाई अझ बलियो बनाएको छ ।

बज्राचार्य काठमाडौँ महानगरपालिका शहरी योजना आयोगमा सहायकविज्ञ समेत रहनु भएकी उहाँ अनुसन्धानकर्ता पनि हुनुहुन्छ