कार र ट्रक ठोक्किँदा नवलपरासीमा पाँच जनाको मृत्यु

 

नवलपुर । नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ ।
राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किदा कारमा सवार सवैको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् ।
कार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी देबचुली नगरपालिका केउरेनीका ३५ वर्षका पूर्णबहादुर बिक, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगर र अन्य २ जनाको सनाखत भएको छैन । दुर्घटनामा गम्भीर घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।