बालिका ग्रेटाको अभियान

maitrinews

 

१६ वर्षीया स्विडिस बालिका ग्रेटा थनवर्ग चर्चाको शिखरमा छन् । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकाको न्युयोर्क पुगेकी ग्रेटाको पाँच मिनेट २० सेकेन्डको भाषणले विश्वको ध्यान खिचेको छ । उनी स्विडेनको वातावरण बचाउ आन्दोलनको अभियन्ता हुन् । सन् २०१८ को अगस्तमा स्विडेनको संसद् भवनअगाडि विरोध प्रदर्शन गरेपछि उनी चर्चामा आइन् । ग्रेटाले आफ्नो देशमा वातावरण प्रदूषण, जलवायु परिवर्तनलगायत क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । सबै सदस्य राष्ट्रबाट राष्ट्र प्रमुख, सरकार प्रमुख तथा उच्चस्तरका नेता सहभागी सम्मेलनमा ग्रेटाले ‘तपाईंहरुले हाम्रो बालापन, हाम्रा सपना छिन्ने कसरी हिम्मत गर्नुभयो’ भन्दै गरेको प्रश्न र उनको प्रस्तुतिले धेरैको ध्यान तान्यो । ग्रेटाले वातावरण बचाउ अभियानको थालनी आफ्नै घरबाट गरिन् । यसको पहिलो कदमका रूपमा उनले आफ्ना बुबाआमालाई मांसहारीबाट साकाहारी बनाइन् । घरमा जनावर र जनावरबाट बनेका सरसामानको प्रयोगमा उनले प्रतिबन्ध लगाइन् । उनले धेरै कार्बन उत्सर्जन गर्ने सवारीसाधनको प्रयोग नगर्ने अठोट गरिन् । हवाइजहाजले धेरै कार्बन उत्सर्जन गर्ने भन्दै सम्मेलनमा भाग लिनसमेत दुई दिन लगाएर पानीजहाजबाट उनी अमेरिका पुगिन् । उनको नेतृत्वमा ‘दि स्कुल स्ट्राइक फर क्लाइमेट’ नामको अभियान सञ्चालनमा छ । यसलाई ‘भविष्यका लागि शुक्रबार’ भनेर पनि चिनिन्छ ।