राजीनामा गर्न सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, आजै राजीनामा आउने

maitrinews

 

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ ।
“उहाँले आफ्नो निम्ति कानुनी उपचारमा जाने बाटो छँदैछ । तर अहिले आफूमाथि नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि सभामुख पदमा बसिरहन मिल्दैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले बताएको छ ।
“कानुनी रुपमा लड्ने बाटो कायमै रहन्छ तर अहिले देश र जनतालाई हेरेर राजीनामा गर्न निर्देशन दिनुभएको छ,”स्रोतले भन्यो ।
यसैबीच, महरा प्रकरणलाई लिएर नेकपाको आकस्मिक बैठक बसेको छ ।
पार्टी नेतृत्वबाटै राजीनामा दिन निर्देशन भएपछि सभामुख महरा राजीनामा दिने तयारी गर्नुभएको र आजै राजीनामा गर्नुहुने उहाँ निकट सूत्रले बताएको छ ।
उता नेपाली काँग्रेसलगायतका पार्टीहरुले पनि महराको राजीनामा माग गरेका छन् ।