यंगालमा धर्मभक्तको पूर्णकदको शालिकसहित पार्क बन्ने

Mohan Bastola

काठमाडौँ । मंगलबार बिहानको झुल्केभघाँमसँगै ओम बहालको यंगालमा अवस्थित काठमाडौँ महानगरपालिका वडा नम्बर २३ परिसरमा अरु दिन भन्दा बेग्लै खालको चहलपहल देखियो । सभा–सम्मेलन वा जात्राका कारण त्यस्तो चहल–पहल भने त्यहाँ देखिएको होइन । शहीद धर्मभक्त माथेमाको पुख्र्यौली घर नजिकै उहाँकै सम्झनामा धर्मभक्त माथेमाको पूर्णकदको शालिकसहित पार्क निर्माणका लागि शिलान्यास कार्यक्रमका कारण त्यहाँको चहलपहल अलिक फरक खालको देखिएको हो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आथित्यतामा आयोजित सो कार्यक्रममा उपस्थित सबैको मुहारमा एक प्रकारको चमक देखिन्थ्यो ।

त्यहाँका स्थानीयको करीब ४० वर्षको अथक प्रयासपछि २०६८ सालमा सर्वोच्चले सार्वजनिक जाग्गा भनी फैसला गरेपछि उत्साहित बनेका स्थानीय आज त्यहि जग्गामा सहिद माथेमाको सम्झनामा उहाँकै पूर्णकदको शलिक निर्माण हुने भएपछि थप उत्साहित देखिएका हुन् । काठमाडौँ महानगरपालिकाको ७९ लाख ३८ हजार ७ सय ७८ रुपैँया अनुदानमा निर्माण हुन लागेको सो पार्क र शालिकको शिलान्यास गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गा संरक्षण अभियानमा निरन्तर लागेको भन्दै सहिदको सम्झनामा शालिक बनाउने र पार्क निर्माणको काम अघि बढाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘काठमाडौँ महानगरपालिका सम्पदा, संस्कृति र परम्परा मात्रै होइन देश र जनताको मुक्तिका लागि हाँसिहाँसि वलिदानी दिने सहिदहरुप्रति पनि त्यत्तिकै सम्मान गर्छ भन्ने सन्देश दिनका लागि सहिद धर्मभक्तको पूर्णकदको सालिक सहित उहाँकै सम्झनामा पार्क निर्माण गर्न लागिएको हो,’ मञ्चको अघिल्तिर बस्नु भएका धर्मभक्तका भतिजा डाक्टर केदारभक्त माथेमालगायततिर संकेत गर्दै मेयर शाक्यले भन्नुभयो, ‘हामी सहिदको सम्मानमा कुनै कसर राख्दैनौँ । यहाँ पनि धर्मभक्तको शालिक र पार्क निर्माण गर्दा तपाईँहरुले भने अनुसारकै डिजाइनमा महानगरपालिका अघि बढ्छ ।’

मेयर शाक्यले गंगालाल, पद्मरत्न तुलाधरलगायतको शालिक निर्माणमा पनि उहाँको परिवारसँग सल्लाह गरेर मात्रै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘गंगालाल, धर्मभक्तलगायतका सहिद हाम्रा आदर्श हुन् । उनीहरुको सम्झनाका लागि हामी सबैको योगदान आवश्यक छ,’ शाक्यले भन्नुभयो, ‘बुढानिलकण्ठमा महानगरपालिकाकै सहयोगमा धर्मभक्त माथेमा मानव सेवा आश्रम बनाउने प्रयासको समेत थालनी भएको छ । हामी अन्य ठाउँमा पनि उहाँहरुको सम्मानका लागि गर्ने प्रयासलाई निरन्तरता दिन्छौँ ।’

मेयर शाक्यले काठमाडौँको भित्रि सहरको इतिहास र परम्परा विशिष्ट खालको रहेको भन्दै त्यसलाई बचाई राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिक पूर्वाग्रह राखेर मेयरलाई असफल बनाउने भन्दै केही लागेका छन्,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले मलाई असफल बनाउने भन्नु भनेको महानगर असफल हुनु हो, महानगर असफल भयो भने महानगरवासी हामी कसरी सफल हुन्छौँ ?’ उहाँले राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर काम गर्न पनि आग्रह गर्नुभयो ।

लठ्ठीको साहारामा कार्यक्रम स्थलमा आइपुग्नु भएका प्रथम उपमेयर एवं पूर्व निर्माण तथा यातायात मन्त्री प्रयागराजसिंह सुवालले पनि यंगालमा धर्मभक्त माथेमा पार्क बन्ने कुराले निकै उत्साहित भएको बताउनुभयो । ‘शुक्रराजलाई झुण्ड्याएको प्रत्यक्ष देख्ने मध्येको एक म पनि हुँ,’ १९९७ सालतिर घटनालाई सम्झँदै सुवालले भन्नुभयो, ‘त्यतिबेला शुक्रराजका पिताले शुक्रराजलाई झुण्ड्याउन ठिक्क पार्दा ‘क्या वात वेटा’ भनेको शब्द अहिले पनि मेरो कानमा ठोक्किरहेको छ । म त्यतिबेलादेखि नै उहाँहरुको विचार वोकेर हिँडेको हुँ । अहिले मेरै टोलका दाई धर्मभक्तको सम्झनामा उहाँको पूर्णकदको शालिक बन्ने र पार्क निर्माण गर्ने कुराले उत्साहित भएको छु ।’
लामो समयदेखि व्यक्तिले कब्जा गरेको जग्गालाई लामो संघर्षपछि सार्वजनिक जग्गा बनाउन सफल भएको स्मरण गर्दै त्यहि जग्गामा महानगरपालिकाले धर्मभक्तको शालिक र पार्क बनाउने प्रयास गरेकोमा थप उत्साहित भएको बताउनुभयो ।

कार्यक्रमस्थलमै भेटिनु भएका धर्मभक्त माथेमाका भतिज डाक्टर केदारभक्त माथेमाले शालिक निर्माणस्थलबाट पारीपट्टि काँचो इट्टाले बनेको पुरानो घर चोली औँलाले देखाउँदै भन्नुभयो– ‘ऊ त्यो र त्यस आसपासका हाम्रा पुख्र्यौली घर हुन् । यहाँ नजिकै उहाँ (धर्मभक्त माथेमा)को सम्झनामा उहाँको पूर्णकदको शालिक र पार्क निर्माण गर्ने कुराले म मात्रै होइन हाम्रो परिवार र टोलवासी समेत खुशी भएका छन् ।’ उहाँले त्यत्तिकैमा आफ्नो भनाई अन्त्य गर्नुभएन । ‘कुनै बेला राज्य सुतेका बेला यहाँ दियो बलेको थियो । धर्मभक्त, सिद्धिचरणहरुले राज्य सुतेका बेला पनि दियो बालेको ठाउँ हो । धर्मभक्तले त्यतिबेला नै यहाँ व्यायम स्कुल चलाएको ठाउँ पनि हो,’ यति भन्दै गर्दा उहाँ केही भाबुक देखिनु भएको थियो । उहाँले महानगरपालिकाकै प्रयासमा शालिक र पार्क निर्माण हुने कुराले आफूलाई खुशी लागेको पनि बताउनुभयो ।

त्यसो त कुनै बेला बलराम अमात्य र तारादेवी अमात्यको नाममा व्यक्तिगत भन्दै आएको सो जमिनलाई निरन्तर कानुनी लडाईँ लगेर सार्वजनिक जग्गामा रुपान्तरण गर्न अथक प्रयास गर्नुभएका र कानुनी क्षेत्रमा लामो अनुभव संगाल्नु भएका मुक्त प्रधानले पनि जनताको जित भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘यो जमिनमा पार्क र शालिक निर्माण गर्ने अवस्थासम्म आउन मैले अनुभवको हिसावले भन्ने हो भने विद्यावारिधी नै प्राप्त गरेको छु,’ उहाँले भन्नुभयो, ‘यो कोर सिटी हो, यहाँको छुट्टै खालको विशिष्ठता छ, यहाँ महानगरको प्रयासमा सहिद धर्मभक्तको शालिक प्रतिस्थापन गर्ने कुराले म उत्साहित भएको छु ।’

ओलम्पस क्लवका अध्यक्ष पवित्र बज्राचार्यले पनि सत्यको जित भएको बताउनुभयो । ‘हामी सत्यका लागि लडेका थियौँ, सत्यको जित भएको छ,’ उहाँले भन्नुभयो, ‘यहाँ शालिक निर्माण हुने र पार्क बन्ने कुराले हाम्रा पुस्तालाई इतिहाँस बारे अथ्र्याउने छ ।’ उहाँले पनि महानगरपालिकाले गरेको सहयोगको खुलेर प्रसंसा गर्नुभयो । ‘महानगरपालिका भनेको संस्था हो, मेयर जनप्रतिनिधि हुनुहुन्छ । उहाँहरुले जनताले चाहेको काम गर्ने हो,’ उहाँले भन्नुभयो, ‘मेयर र वडाध्यक्षलगायतले जनप्रतिनिधिले गर्ने काम गर्नुभएको छ । खुशी लागेको छ ।’

वडा २३ का अध्यक्ष मचाराजा महर्जनले आफू २५ वर्षको हुँदादेखि लडेको लडाईँ आफू ५० वर्ष कटेपछि पूरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘यो मेरो मात्र प्रयासले सफल भएको होइन, मेरो भन्दा बढी वडावासीको योगदान रहेको छ,’ उहाँले भन्नुभयो । उहाँले अहिले पार्क र शालिक निर्माण गर्ने स्थानको सार्वजनिक जग्गा ९ आना २ पैसा रहेको र थप ६ आना जग्गा पनि सार्वजनिक गर्ने प्रयास जारी रहेको बताउनुभयो । उहाँले सहिद दिवसको अवसर पारेर यहि माघ १६ मा शालिक अनावरण गर्ने लक्ष्य लिएको बताउनुभयो ।