आलमका मान्छेले अपहरण गरेर बयान फेर्न लगाए

 

काठमाडौं । रौतहटको फरहदवामा १२ वर्ष अगाडि भएको बम विष्फोटका प्रत्यक्षदर्शी गौरीशंकर चमारले आफूलाई मोहम्मद अफताव आलमका व्यक्तिले दबाब दिएर बयान फेर्न लगाएको बताएका छन् ।
आलमका व्यक्तिहरुले आफूलाई अपहरण गरेर चार दिनसम्म भारतमा बन्धक बनाएको र एउटा कागजमा सही गर्न लगाएको गौरीशंकरले बताएका छन् । त्यही कागज अदालतमा बुझाएको उनले बताएका छन् ।

गौरी शंकरको तर्फबाट सोमबार रौतहट जिल्ला अदालतमा पेश भएको कागजातमा आफूलाई बम विष्फोटको घटनाबारे जानकारी नभएको उल्लेख छ । साथै आफू बम विष्फोटमा नभइ स्टोभ पड्किएर घाइते भएको विवरण पनि उल्लेख छ ।

२०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरेको आरोपमा कांग्रेस नेता मोहमद अफताव आलम पक्राउ परेका छन् । उनीविरुद्धको मुद्दा हाल जिल्ला अदालत रौतहटमा चलिरहेको छ ।

भारत सीतामढीका गौरीशंकर चमारलाई सोही घटनाको साक्षी भनेर प्रहरीले प्रस्तुत गरेको छ । तर, सोमबार उनको हस्ताक्षरयुक्त कागजमा बम विष्फोटको घटनाबारे थाहा नभएको उल्लेख गरिएपछि तरंग सिर्जना भएको थियो ।

गौरीशंकरले चार दिन अगाडि आफू घरमै बसिरहेको बेला केही मानिसहरुले जीपमा राखेर आलमका सम्धीको घरमा बन्धक बनाएर राखेको बताएका छन् । काम छ भनी अपहरण गरी आलमका सम्धीको घरमा बन्धक बनाइ राखेको र डर धम्की दिँदै एक कागजमा हस्ताक्षर गर्न लगाएको बताएका छन् ।

उनीहरुले अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर घाइते भएको वयान दिनू भनेर सिकाएको र सोमबार दिउँसो मोटरसाइकलमा राखेर आफूलाई जिल्ला अदालत नजिक ल्याएर छाडिएको गौरीशंकरको भनाइ छ ।