वैराग मुक्तिको सर्वश्रेष्ठ मार्ग

बुद्ध भन्नुहुन्छ, धर्ममध्ये वैराग धर्म श्रेष्ठ छ । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राज दरवारको सुख सयल त्याग गरी, विलासी जीवनबाट विरक्त भई गृहत्याग गर्नुभयो । अनित्य, अस्थिर काम रागको सुखमा भुल्नु ठीक होइन भनी उहाँले ऐश आराम, राजकीय जीवनलाई दुखको सागर देख्नुभयो । गृहत्याग पुर्व एकदिन उद्यानको भ्रमणका क्रममा एकजना बृद्ध हातले लठ्ठी टेक्दै थरथर काप्दै हिडिरहेको दृष्य उहाँको आँखामा पर्यो । केश सवै फुलेर सेताम्य भईसकेको, घुँडाले चिउँदो छोइएला जस्तो, दाँत जम्मै झरिसकेको त्यस बृद्धलाई देखेपछि राजकुमारको हृदयमा धेरै कालदेखि सृजित वैरागरुपी ज्ञानको मूल फुट्यो । त्यस्तै अर्को एक दिन सारथी छन्दकसहित रथमा बसेर उहाँ फेरि जानुभयो । एकजना रोगले पीडित व्यक्ति सडकको बीचमा छटपटाईरहेको दृष्य उहाँले देख्नुभयो । त्यसैगरी अर्को दिन दाहसंस्कारका लागि लैजाँदै गरेको शवमा उनको दृष्टि पुग्यो । जरा, ब्याधी र मृत्युका ती दुखद् घटनाहरुका कारण सिद्धार्थले जीवनलाई अझ समिपबाट नियाले । उहाँ हर दिन संसारको दुख दुर गर्ने चिन्तनमा केन्द्रित हुन थाले ।
एक दिन सिद्धार्थले पहेँलो वस्त्र धारण गरेका अति शान्त स्वभावको एकजना भिक्षुलाई देख्नुभयो । सवै प्राणीमा समान भाव राखी संसार दुखको सागर हो भन्ने जानेर मोक्ष प्राप्तिका लागि सवै मायाजाल छोडेर प्रवजित हुनुभएको भन्ने रहस्य बुभ्नु भएपछि सिद्धार्थले पनि सम्पूर्ण प्राणी जगतको उद्धारका लागि राज्यको सुखभोग छोडेर महाभिनिष्क्रमणको निश्चय गर्नुभयो । र छोरा राहुलको जन्मको खबरलाई राहुको संज्ञा दिएर दरबारको सम्पूर्ण सुख सयललाई तिलाञ्जली दिनुभयो । त्यस घटना पश्चात ६ वर्षको दुष्कर चर्यापछि बुद्धगयामा २९ वर्षको उमेरमा उहाँ बुद्ध हुनुभयो ।
सायद उहाँले संसार दुखको चक्र हो भनेर वैराग धर्म नअपनाएको भए , नैष्क्रम्य पारमिता पूरा नगर्नु भएको भए ज्ञानको दरिद्रता र दुखबाट मुक्तिको मार्ग पहिल्याउने थिएन । उहाँले बोधिज्ञान प्राप्ति गर्ने थिएन र बद्ध हुने थिएन ।
संसार अनित्य र अस्थायी छ । संसारमा उत्पत्ति भएजति सवैकुराको विनाश अवश्यशम्भावी छ । मानिस लगायत सवै प्राणीको मृत्यु निश्चित छ । यसरी जव मानिसले संसारको क्षणभंगुरतालाई ज्ञानचक्षुले देख्न सक्दैन, तवसम्म लोभ, मोह, तृष्णामा भुलिरहेको हुन्छ । त्यसैले धम्मपदमा भनिएको छ,
सब्बे संखारा अनिच्चाती, यदा पञ्ञाय सस्सती ।
अथ निबिन्दती दुख्खे, यश मग्गो विशुद्धिया ।।
अर्थात्, सवै संस्कार अनित्य हो भनी जब प्रज्ञा युक्त हुन्छ , तव ती सांसारिक दुख उपर वैराग्य जाग्दछ , त्यही नै विशुद्धि मार्ग हो ।
चार आर्य सत्यमा पहिलो सत्य हो, दुखको सत्य । बुद्धका अनुसार जन्म हुनु नै दुख हो । त्यस्तै जन्मेर बृद्ध हुनु दुख हो । रोगी हुनु दुख हो, मरण दुख हो, प्रियसँग विछोड हुनु दुख हो, अप्रियसँगको संयोग पनि दुख हो । इच्छापूर्ति नहुनु दुख हो र संक्षेपमा हामीले जुन इन्द्रिय रुपी शरिर धारण गरिरहेका छौं त्यो पनि दुख नै हो ।
सुख भन्ने गरेका सारा लौकिक सुखभित्र दुख लुकेको हुन्छ । त्यसैले सवै संस्कार दुख हो भनेर जव प्रज्ञा युक्त हुन्छ तव त्यस दुख उपर वैराग्य जाग्दछ । त्यही नै विशुद्धिको मार्ग हो । अझ उहाँ भन्नुहुन्छ, अनात्मा, अनित्य र दुखले भरिएको जीवनमा कुनै पनि कुरामा म, मेरो भन्नु उपयुक्त छैन । रुप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी सवै कुराहरु अनात्मा हुन् । अतित, अनागत र वर्तमानको सवै कुरा न त मेरो हो, न म हुँ , न मेरो आत्मा नै हो । त्यसैलै भनिएको छ, मेरो सन्तान छ, धन सम्पत्ति छ भनी अज्ञानीहरु रमाइरहेका हु्र्रन्छन् । तर आफ्नो देह नै आफूले भने जस्तो छैन भने धन सम्पत्ति, सन्तानले के ने गर्न सक्छ र ?
आशक्ति या तृष्णा दुखको मूल कारण हो । यो शरिरमा आउने चिलाउने खटिरा जस्तै हो । चिलाउने खटिरालाई चिलाउँदै जाँदा आनन्दसँगै घाउ हुन्छ । यसरी प्रायः मानिसहरु भौतिक सुखभोग र घाउ बढाउने आनन्द प्रप्तिमा नतमस्तक रहन्छन् । साथै क्षण क्षणमा कर्म र संस्कार बनाइरहेका हुन्छन् र जन्म, मरणको अनन्त चक्रलाई आत्मसाथ गरिरहेका हुन्छन् । आशक्ति र तृष्णालाई निर्मूल नपारी दुखको भवसागरबाट कहिल्यै पनि छुटकारा पाउन सक्दैन । दुख मुक्तिका लागि आशक्तिरहित वैराग्य धर्मको आत्मसाथ गर्नु आवश्यक छ । त्यसैले भएिको छ, जव लौकिक भोग विलाश, भौतिक सुखप्रति वैराग उत्पन्न हुन्छ, त्यही नै मुक्तिको सर्वश्रेष्ठ मार्ग हो ।