जिउँदै अन्तिम संस्कारको सेवा

maitrinews

 

दक्षिण कोरियाको एउटा सेवा केन्द्रले जिउँदै अन्तिम संस्कारको सुविधा प्रदान गरिरहेको छ । सन् २०१२ मा खोलिएको ‘हेभेन हिलिङ सेन्टर’मा अहिलेसम्म २५ हजार मानिसले जिउँदैमा अन्तिम संस्कारको अनुभव गरिसकेका छन् । बनावटी मृत्युको अनुभव गरेर आफ्नो जीवनमा सुधार गर्नका लागि यस्तो अनुभव लिइएको हो । ‘जब तपाईं मृत्युप्रति सचेत हुनुहुन्छ, यसलाई अनुभव गर्नुहुन्छ, त्यसपछि तपाईं जीवनप्रति नयाँ दृष्टिकोण राख्नुहुन्छ,’ हालै अन्तिम संस्कारमा सहभागी ७५ वर्षीया चो जेई–हीले भनिन् । वरिष्ठ नागरिक कल्याण केन्द्रले सञ्चालन गरेको ‘सुन्दर ढङ्गले मर्ने कला’ नामक कार्यक्रममा उनी सहभागी थिइन् । भर्खरका किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले शवले लगाउने वस्त्र लगाएका थिए, आफ्नो अन्तिम संस्कारको तस्बिर खिचाएका थिए, अन्तिम इच्छा लेखेका थिए र शव बाकस (कफिन) मा १० मिनेट सुतेका थिए । विश्वविद्यालयका विद्यार्थी चोई जिन–क्युले कफिनमा बिताएको १० मिनेटले आफूले जीवनको निस्सारता बुझेको बताए । ‘कफिनमा सुत्दा मैले जिउनका लागि गरिने अनेक होडबाजी कति अर्थहीन छन् भन्ने बुझेँ,’ २८ वर्षीय विद्यार्थी क्युले भने, ‘स्नातक गरेपछि मैले अत्यन्त प्रतिस्पर्धात्मक रोजगारी बजारमा प्रवेश गर्नेबारे सोचेको थिएँ । तर, कफिनमा बिताएका केही मिनेटले मलाई यी सबै प्रतिस्पर्धा वाहियात लागे। अब म आफ्नै व्यापार सुरु गर्छु र शान्त ढङ्गले जीवन बाँच्छु ।’ ‘युवा उमेरमै मृत्युबारे सिक्नु र यसका लागि तयार रहनु महत्वपूर्ण छ,’ मृत्युसम्बन्धी एक किताब लेखेका आसान मेडिकल सेन्टरका प्राध्यापक डा. यू अनसिलले भने, ‘जीवन अमूल्य वरदान हो भन्ने सत्य सबैले बुझ्नु जरुरी छ ।’