लिभरपुलले जित्यो ‘क्लब वर्ल्ड कप’को उपाधि

maitrinews

 

कतार । रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गोल गरेपछि ब्राजिलियन क्लब फ्लेमेङ्गोलाई पराजित गर्दै इंग्लिस क्लब लिभरपुलले यस वर्षको फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

फिर्मिनोले ९९औं मिनेटमा गरेको गोल मद्दतमा लिभरपुल १–० ले विजयी भएको हो । लिभरपुल पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।
कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । यस अवधिमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

थप गरिएको ३० मिनेटको नवौं मिनेटमा ब्राजिलियन खेलाडी फिर्मिनोले नै ब्राजिलियन क्लबविरुद्ध गोल गर्दै लिभरपुललई अग्रता दिलाए । अन्ततः त्यही गोल निर्णायक बन्दा लिभरपुलले उपाधि जित्न सफल भएको हो ।

सन् २००८ मा म्यानचेष्टर युनाइटेडले उपाधि जितेयता लिभरपुल क्लब विश्वकप जित्ने पहिलो इंग्लिस क्लबसमेत बनेको छ । सन् २००५ मै लिभरपुल फाइनल पुगे पनि त्यतिबेला ब्राजिलकै साओपाउलोसँग पराजित भएको थियो ।

लिभरपुलका मोहम्मद सलाहले उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्ड पाए । प्लेमेङ्गोका ब्रुनो अनरिकेले सिल्भर बल र अल हिलालका कार्लोस एडुओर्डोले ब्रोन्ज बल जिते ।