नेपालमा लगानीको उपयुक्त वातावरण बनेको छः योगेश भट्टराई

Mohan Bastola

काठमाडौं । नयाँ वर्ष २०२० को उज्यालो बिहानी र आरम्भसँगै नयाँ आशा, उत्साह, ऊर्जा र अपेक्षाका साथ ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को आरम्भ भएको छ । देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र संसारभरिका सम्पूर्ण जनसमुदायमा म नयाँ वर्ष २०२० को मंगलमय शुभकामना व्यक्त गर्दछु र नेपाल भ्रमणको निम्तो बाँड्न चाहन्छु ।

लामो संघर्षको जगमा जनताबाट निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संविधान कार्यान्वयनसँगै हामीले राजनीतिक विभेद र असमानताहरूको अन्त्य गरेका छौं । संविधान जारी भएपछिको निर्वाचनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बलियो र स्थायी सरकार बनेको छ । सातैवटा प्रदेशमा स्थायी सरकार बनेका छन् । ७ सय ५३ स्थानीय तहमा ३६ हजार ६ सय ३९ जना निर्वाचित जनप्रतिनिधिहरू कार्यरत हुनुहुन्छ । संघदेखि स्थानीय तहसम्म आवश्यक कानुनहरू निर्माण भएका छन् । अब यससँगै मुलुक स्थायी शान्ति, समृद्धि र स्थायित्वको फराकिलो राजमार्गमा आइपुगेको छ । अब हामीले आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरी समतामूलक समाज निर्माण गर्नु छ । मुलुकलाई समाजवाद निर्माणको बाटोमा लैजानु छ ।

हाम्रो राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने बाटोमा हामी अग्रसर भएका छौं । अबको हाम्रो बाटो र उज्यालो ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । हो, त्यही महाअभियानको एउटा कार्यक्रम हो, ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ । नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा छ । नेपालमा लगानीको उपयुक्त वातावरण बनेको छ । नेपाल लगानीको लागि ‘भर्जिन ल्यान्ड’ हो । नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् । नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस् । नेपाल धार्मिक रुपले संसारकै विशिष्ट मुलुक हो, यहाँका पवित्र धार्मिक स्थलहरू पुगेर जीन्दगीभरिका लागि पवित्रता प्राप्त गरेर जानुहोस् । नेपाल जैविक विविधताका हिसाबले संसारकै अग्रणी मुलुक हो, यहाँका पन्छी, वन्यजन्तु र वनस्पतिसँग रमाएर जानुहोस् ।

वास्तवमा नेपाल संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य हो । यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति र परम्परा, ऐतिहासिक धरोहरहरू साँच्चै नै विश्वलाई मोहित र अचम्मित पार्ने खालका छन् । ‘अतिथि देवो भवः’ को मान्यतामा नेपालीहरूको अथिति सत्कार विश्वमै उत्कृष्ट मानिन्छ । पर्यटनमा विश्वभरिका मुलुकहरूको आ–आफ्ना विशेषता छन् । पर्यटकहरूको जिज्ञासा हुन्छ, ‘कुन देशमा के छ ?’ तर नेपाल यस्तो मुलुक हो, हामी सहजै भन्न सक्छौं, ‘यहाँ के छैन ? सबथोक छ ।’  ‘के का लागि नेपाल जाने ?’ हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा हामी भन्न सक्छौं, ‘सबैका लागि नेपाल जाने ।’ पर्यटनमा ‘सिजन’को कुरा हुन्छ । कुन ‘सिजन’मा कहाँ जाने ? तर नेपाल त्यस्तो मुलुक हो, जहाँ हरेक ‘सिजन’ पर्यटकका लागि विशेषतायुक्त छ । त्यसैले हामी भन्छौं, ‘नेपाल सबै खालको पर्यटन र सबै सिजनका लागि उपयुक्त छ ।’ संसारकै सबैभन्दा उच्च हिमशृंखला नेपालमा छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये ८ हिमाल नेपालमै छन् । पर्वतारोहण, पदयात्रा, रक–क्लाइम्बिङ, र प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधिहरूको प्रमुख स्रोत यही हिमालहरू हुन् । हाम्रा नदीहरूमा जस्तो ¥याफ्टिङको रोमाञ्चकता अरु मुलुकमा पाउन कठिन छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी यहीँ छ । यहीँ छ, हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पवित्र तीर्थस्थल पनि । पवित्र तीर्थस्थलहरू मुक्तिनाथ, जनकपुुरधाम, हलेसी, पाथीभरा, खप्तड, स्वर्गद्धरी यहीँ छन् । यहाँका २० वटा संरक्षित क्षेत्रहरूले देशको २३.२३ प्रतिशत क्षेत्रफल ओगटेको छ । विश्व सम्पदा सूचीमा रहेका अनेकौं सम्पदाहरू यहीँ छन् । यहाँका ४ वटा क्षेत्रहरू चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौं उपत्यका, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।

काठमाडौं उपत्यकामा रहेका सावटा सम्पदाहरू काठमाडौं दरवार क्षेत्र, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ स्तुपा र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् । यहाँको जातीय, भाषिक विविधता र सांस्कृतिक विशिष्टिता झनै महत्वपूर्ण छ । भौगोलिक रुपमा सानो मुलुकमा १ सय २५ जातजाति र १ सय २३  भाषाहरू छन् ।

नेपालमा कूल ८ सय ७२ प्रजातिका चरा पाइन्छन्, जुन सङ्ख्या विश्वकै ९ प्रतिशत हो । हामीकहाँ १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १ शिकार आरक्ष, १२ वटा मध्यवर्ती क्षेत्र र १० वटा रामसार क्षेत्र छन् । नेपालले विश्वको भूगोलमा जम्मा ०.१ प्रतिशत जमिन ओगटेको छ । तर, जैविक विविधताका हिसाबले संसारमै धनीदेशहरूमध्ये नेपाल पनि पर्दछ । नेपालको भौगोलिक विविधतामा ११८ प्रकारको पारिस्थिकीय प्रणालीभित्र ३५ थरीका वन र २४८ थरीका रैथाने वनस्पतिहरू पाइन्छन् ।

नेपाल पर्यटकहरूको लागि आफैमा एउटा पूर्ण प्याकेज हो । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै ‘नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिविम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुव प्रदेशको नमूना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । यहाँ के छैन ?

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ । सन् १९५१ पछि मात्र नेपाललाई विदेशी पर्यटकहरूका लागि खुला गरिएको हो । साढे ६ दशकको अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै ठूलो परिवर्तन आइसकेको छ । अब मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको राजमार्गमा अघि बढेसँगै पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना छ । त्यसैले सरकारले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ अभियान घोषणा गरेको हो । सातैवटै प्रदेशहरूमा पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ । यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने संकल्पसहित यो शुुभारम्भ गरिरहेका छौं । यो राष्ट्रिय उत्वसमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन ।

त्यसैले हामीले सन् ‘२०२०’लाई प्रस्थानविन्दुका रुपमा मान्ने छौं । ‘२०२०’ ले पर्यटनको लागि राष्ट्रिय मनोविज्ञान तयार पार्नेछ । यसबाट पर्यटनको नयाँ क्षितिज उदाउनेछ । यसले पर्यटनको नयाँ बाटो र उज्यालो तय गर्नेछ । त्यही बाटो र उज्यालोलाई पछ्याएर २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौं ।

पर्यटनबाट नेपालको कुल ग्रार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । अहिले विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेका छन् । अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य रहेको छ ।

पर्यटनको लागि ‘कनेक्टिभिटी’ असाध्यै महत्वपूर्ण छ । सरकारले पूर्वाधार विकासलाई तीव्रता दिएको छ । खासगरी हवाई पूर्वाधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल हो । नेपालको अर्को अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल बनिरहेको छ । यो छिट्टै नै सञ्चालनमा आउनेछ । पोखरा क्षेत्रीय विमानस्थल धमाधम बनिरहेको छ । यो २०२१ देखि सञ्चालनमा आउनेछ । बारा स्थित निजगढ अन्तराष्ट्रिय विमानस्थलसरकारको उच्च प्राथमिकताको राष्ट्रिय गौरवको आयोजना हो । हामीले देखेको सपना र राखेको उद्देश्य पूरा गर्नका लागि निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अनिवार्य छ । त्यसैले यो विमानस्थल हाम्रो लागि निर्विकल्प हो । त्यसमा राष्ट्रिय सहमति कायम भएकोमा म खुसी व्यक्त गर्न चाहान्छु । आन्तरिक विमानस्थलहरूको स्तरोन्नति र व्यवस्थापनलाई तीव्रता दिएका छौं ।

पर्यटनबाट प्राप्त हुने राजस्व तथा रोजगारी बढाई समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने हाम्रो लक्ष्य छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार, पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्रान्डिङ, मानव संशाधनको विकास, सांस्कृतिक सम्पदाहरूको विकास, पर्यटनमा अध्ययन–अनुसन्धान र अभिलेखीकरणमा मन्त्रालयले जोड दिएको छ । नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउने हाम्रो कार्यक्रम छ ।

निजी क्षेत्रले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’को तयारीमा देखाएको सक्रिय सहभागिता र आगामी अभियानका लागि जाहेर गरेको प्रतिबद्धता असाध्यै सराहनीय छ । यो सहभागिता र प्रतिबद्धताको उच्च प्रशंसा गर्दछु । आगामी दिनमा निजी क्षेत्रसँगको सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाइनेछ ।

‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ हाम्रो राष्ट्रिय उत्सव हो । त्यस्तो उत्सव जसले हाम्रो राष्ट्रिय आकांक्षा र हाम्रो समृद्धिको सपनाहरूलाई सफलाततिर उन्मुख गराउनेछ । विपनामा परिणत गर्नका लागि सहयोग गर्नेछ । अब हामी यो अभियानबाट पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्नेछौं । पर्यटनमा नयाँ मानक स्थापना गर्नेछौं । र, विश्व समुदायको दिलदिमागमा नेपालको नयाँ विम्व निर्माण गर्नेछौं ।
(नेपाल भ्रमर्ण वर्ष २०२० उद्घाटका क्रममा व्यक्त सम्पादित मन्तव्य)