कालापानी सीमा अतिक्रमणबारे राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित

maitrinews

 

काठमाडौँ । सत्तारुढ नेकपाका सांसद प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद समर्थक रहेको कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव राष्ट्रिय सभा बैठकबाट पारित भई सोको कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिइएको छ।

सत्तारुढ नेकपा सांसद खिमलाल भटराई प्रस्तावक र नेपाली कांग्रेसकी सरिता प्रसाईं समर्थक रहेको सो प्रस्ताव बिहिबारकै बैठकमा प्रस्तुत गरी त्यसमाथि छलफल गरिएको थियो।

सोहि बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफलमा उठेका प्रश्नको जवाफ र सरकारको धारणा जानकारी गराएपछि सो प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको थियो।

त्यसअघि नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा भटराई प्रस्तावक र प्रसाई समर्थक रहेको राष्टिय संकल्प प्रस्ताव दर्ता भएको जानकारी गराउँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा छलफल गराउनुभएको थियो ।

‘आजको संकल्प प्रस्ताव पारित गर्दै राष्ट्रिय एकताका साथ निकास दिने हिसाबले अघि बढौं,’ भटराईले सो प्रस्ताव सभामा प्रस्तुत गर्दै भन्नुभयो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रसाईंले त्यसको समर्थन गर्दै धारणा राख्नुभएको थियो ।

‘यो राष्ट्रिय मुद्दा भएकोले यसमा सबै एकजुट हुनुपर्ने हुँदा हामीले यसलाई संयुक्तरुपमा प्रस्तुत गरेका हौं,’ उहाँले भन्नुभयो ।