‘टु प्लस वान’ भनेको त्रिदेशीय सहकार्य : होउ

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीले साना देशहरुसँग ‘टु प्लस वान’का आधारमा सहकार्य गर्ने चीन र भारतको उच्चस्तरीय छलफल त्रिदेशीय सहकार्य मात्रै भएको बताउनुभएको छ ।

शुक्रबार चिनियाँ दुतावासमा पत्रकारहरुसँगको अन्तरक्रियामा राजदुत होउले एशिया क्षेत्रमा भारत र चीनबीच सहकार्य गर्ने अवधारणाका रुपमा टु प्लस वान अघि सारिएको बताउनुभयो ।
उहाँले नेपालसँग टु प्लस वान भने पनि समान देशको हैसियतमा नेपालको पूर्वाधार, दुरसंचारलगायतका क्षेत्रमा त्रिदेशीय सहकार्य हुन सक्ने प्रष्टीकरण दिनुभयो ।

‘चीन, भारत प्लस अवधारणा एशिया क्षेत्रमा आर्थिक विकासका लागि सहकार्य कसरी गर्ने भन्ने अवधारणा हो । एशियाका ठूला विकासशिल देश र अत्यन्त द्रुत आर्थिक बृद्धिदर हासिल गरेका भारत र चीन मिलेर सहकार्य गर्ने अवधारणा हो । यो चीन, भारत प्लस साना देश भनिएको होइन, त्रिदेशीय सहकार्य भनिएको हो’ राजदुत होउले भन्नुभयो । यो भारत र चीन मिलेर साना देशलाई थिच्ने अवधारणा नभएको उहाँको संकेत थियो ।

चिनियाँ राष्ट्रपति सि चिनपिmङले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले टु प्लस वानको अवधारणाबारे छलफल गरेको बताउनुभएको थियो । ओलीले टु प्लस वान होइन त्रिदेशीय सहकार्यमा नेपालको चासो रहेको उल्लेख गर्नुभएको थियो ।