जुम्लामा भारी हिमपात, चिसो बढ्यो

maitrinews

 

जुम्ला । जुम्लामा फेरि भारी हिमपात भएको छ । हिमपातभएसँगै चिसो बढेको छ । केही दिनदेखि रोकिएको हिमपात तेस्रो पटक सुरु भएको हो । एक महिना अघि हिमपात भएको जुम्लामा झण्डै एक सातादेखि हिउँ पर्ने र रोकिने क्रम भइरहेको छ । तेस्रो पटक हिमपात भएसँगै जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

यस पटक पनि भारी वर्षापछि हिउँ पर्न थालेको हो । हिउँ पर्न थालेपछि जनजीवन प्रभावित भएको छ । हिउँ पर्न थालेसँगै स्थानीयका दैनिक क्रियाकलापहरु रोकिएका छन् भने त्यस क्षेत्रमा यातायात सेवा पनि अवरुद्ध भएको छ ।

हिउँ जमेका कारण हवाइ र स्थल यातायात अवरुद्ध हुँदा स्थानीयको आवागमनसमेत रोकिएको छ। जुम्ला विमानस्थलमा बाक्लो हिउँ जमेपछि हवाइ सेवा सञ्चालनमा आउन सकेको छैन। जुम्लादेखि कालिकोट, सुर्खेत, नेपालगञ्ज जाने यातायात सेवा बन्द हुदा यात्रुलाई समस्या भएको छ।