राष्ट्रिय सभा सदस्य पनि प्रम बन्न पाउनपर्ने विषयमा प्रचण्ड र नेपाल सहमत

maitrinews

काठमाडौं । प्रधानमन्त्री बन्न नपाउने भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बामदेव गौतमले राष्ट्रिय सभा सदस्यको उम्मेवार बन्न अस्वीकार गर्नुभएका छ । तर राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने मुद्दाले भने नेकपाभित्र बहस सुरु गरेको छ ।
यही मुद्दामा भैंसेपाटीस्थित गौतमकै निवासमा नेकपा नेताहरुबीच छलफल भएको छ । स्रोतकाअनुसार यो छलफलका लागि गौतमसँगै वरिष्ठ नेता माधवकुमार नेपालले पहल गर्नुभएको थियो । गौतमले भेटेर आफ्नो मुद्दामा सहमत गराएपछि नेता नेपालले नै अरु नेताहरुलाई छलफलका लागि भैंसेपाटी बोलाउनुभएको थियो ।
छलफलमा गौतम र नेपालसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहु्न्थ्यो ।

नेताहरुले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने व्यवस्था गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पनि नीतिगत रुपमा सहमत भएको बताएका छन् । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री छाड्ने नछाड्ने भोलिको विषय हो, तर राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्नु नीतिगत रुपमा सही छ भनेर प्रचण्डसँगै नेता नेपाल र गौतमले भन्नुभयो’, एक नेता भन्छन् ।

यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पनि नीतिगत रुपमा सहमत भएकाले संविधान संशोधनका लागि थप छलफल गर्ने सहमति भएको छ ।