प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौंडा

maitrinews

 

काठमाडौँ । प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा दुई तिहाई मतले नाम बाग्मती र राजधानी हेटौंडा टुंग्याएको हो । प्रदेश नाम बाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत परेको थियो ।
११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी हुनुभएन ।

यस्तै राजधानी हेटौंडा राख्ने प्रस्तावमा मतदान हुँदा १०५ सांसदले पक्षमा र ३ जनाले विपक्षमा मत हालेका थिए। प्रदेश राजधानी हेटौंडा तोकियोस् भनी मुख्यमन्त्री एवं नेकपा नेता डोरमणि पौडेलले प्रस्ताव गर्नुभएको थियो ।

प्रदेशसभाको पहिलो बैठकमा राजधानी तोक्नेबारेको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।
त्यसक्रममा साझा पार्टीका सांसद रमेश पौडेलले प्रदेश राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव सांसद पौडेलले फिर्ता नलिएपछि मत विभाजन हुँदा दुई तिहाइ बहुमतले अस्वीकृत भएको थियो। १०४ जनाले मतदानमा भाग लिएकोमा प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत परेको थियो।