न्युयोर्कमा भव्यरुपमा पृथ्वी जयन्ती मनाइयो —न्युयोर्कबाट न्हुच्छेनारायण डंगोल

maitrinews

 

न्युयोर्क । न्युयोर्कमा २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको छ । प्रवासी नेपाली एकता समाज मूल आयोजक समारोह समिति अमेरिकाको आयोजनामा प्रत्येक वर्षजस्तै यस पटक पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको हो । न्युयोर्कको सत्यनारायण मन्दिरको हलमा आयोजित समारोह नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु गरिएको थियो ।
कार्यक्रमको सुरुमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बिरमा समारोहका प्रमुख अतिथिलगायत उपस्थित महानुभावहरुले माल्यार्पण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्रपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रम सुरु गर्नुभएकोे थियो ।
समाजका उपाध्यक्ष राजेन्द्र खड्काले स्वागत भाषण गर्दै पृथ्वी नारायण शाहको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही,बरिष्ठ कानुनविद् खगेन्द्र जीसी, कवियत्री गीता खत्री, सूर्य लम्साल, अर्जुन मैनाली, डा. गोविन्द कोइराला, विश्व शाह, रामहरि अधिकारी, वेगम पण्डित, राधाकृष्ण देउजा, राजेन्द्र सेरचन, आनन्द विष्ट ,सञ्जय थापा,लोक तिवारीलगायतका वक्ताहरुले पृथ्वीनारायण शाहको योगदानबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष रुद्र राउतको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि रापपाका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले सफल कार्यक्रमका लागि संयोजक तथा अन्य सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष नवराज खड्काले गर्नुभएको थियो भने बरिष्ठ गायक अभय ढुंगेल र राजेन्द्र राईले राष्ट्रिय गीत गाउनुभएको थियो ।