अगुवा नै छाउगोठमा

maitrinews

 

अछाम । कर्णाली र सुदूरपश्चिमका स्थानीय जनप्रतिनिधि छाउगोठ भत्काउन प्रहरीसँगै गाउँगाउँ हिँडेका छन्, तर, समाजका यिनै अगुवा महिला आफै भने छाउगोठमै बस्न बाध्य छन् । अछामको बान्नीगढी–जयगढ गाउँ कार्यपालिकाले २५ पुसमा गाउँपालिकाभरिका छाउगोठ भत्काउने निर्णय गरेको थियो । तर, कार्यपालिकाकै सदस्य यशोदा बोहरा भने अहिले छाउगोठमा छिन् ।
वडा नम्बर ६ बाट सुरु भएको अभियानअन्तर्गत करिब दुई दर्जन छाउगोठ भत्काइसकिएको छ । गाउँपालिकाको मुकाम जयगढ बजारबाट करिब एक किलोमिटर पर तिमिल्सैन गाउँमा रहेको उनको घरनजिकै छाउगोठ छ । टोलका ६ परिवारका महिला महिनावारी हुँदा त्यही छाउगोठमा बस्छन् । नयाँ पत्रिका टिम पुग्दा यशोदा त्यही गोठमा भेटिइन् । ‘घरको आँगनमा समेत पाइला राख्न मिल्दैन । हामी त चेतनशील छौँ, तर परिवारलाई सम्झाउन गाह्रो छ, त्यसैले छाउगोठमा बस्न बाध्य छौँ,’ उनले भनिन् ।

टोलमै उनकी नन्द नाता पर्ने किशोरी पनि अहिले छाउगोठमा छिन् । मुस्किलले छिर्न मिल्ने ढोका, राम्ररी खुट्टासमेत तन्काउन नमिल्ने कोठामा दुईजना सुत्छन् । वर्षामा छाउगोठ चुहिने र ढोकाबाट भित्र पानी पस्ने मात्र होइन, सर्पको समेत डर हुन्छ । तर, सामाजिक कुसंस्कारका कारण महिलाहरू छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको यशोदाले बताइन् ।

‘छाउ भएका वेला घरभित्र बस्दा देउता रिसाउने मान्यता छ । त्यसैले सासू–ससुराले भित्र बस्न दिन मान्नुहुन्न,’ यशोदाले भनिन्, ‘दुःख सहेरै भए पनि गोठभित्र बस्नुपर्छ ।’ साँघुरो घरमा छुट्टै कोठा नभएकाले महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने अर्को बाध्यता रहेको उनले बताइन् ।

बान्नीगढी–जयगढ गाउँपालिका–४, स्थित आदर्श आधारभूत विद्यालयमा १२ वर्षदेखि पढाउँदै आएकी मिठु बोहराको घरनजिकै छाउगोठ छ । उनी महिनावारी हुँदा कहिल्यै घरभित्र पस्नसमेत पाएकी छैनन् । छाउपडीजस्ता सामाजिक कुसंस्कारविरुद्ध शिक्षा दिनुपर्ने उनी आफैँ महिनावारी हुँदा छाउगोठमा बस्छिन् । ‘भित्रै बस्न पाउनुपर्ने हो, तर परिवार र समाजले अवरोध गर्छ,’ बोहराले भनिन्, ‘समाजका सबै महिला छाउगोठमै बस्छन्, म मात्रै भित्र बस्दा समाजले के भन्ला भन्ने डर लाग्छ ।’

छाउ हुँदा छुट्टै बस्नु कुसंस्कार हो भन्ने बुझेका र यस्ता कुसंस्कार हटाउने अभियानमा लाग्नुपर्ने अधिकांश महिला नै छाउगोठबाट बाहिर निस्कन सकेका छैनन् । अझ, स्वास्थ्य स्वयंसेविकाहरू नै छाउगोठमा बस्छन् । वडा नं। ४ को स्वास्थ्य चौकी इन्चार्ज चन्दकला जैशी भन्छिन्, ‘हाम्रो वडामा १० जना महिला स्वास्थ्य स्वयंसेविका छन्, तीमध्ये नौजना छाउगोठमा बस्छन् ।’ स्वास्थ्य स्वयंसेविका कोही पनि छाउगोठमा नबस्ने र अरूलाई पनि नबस्न सचेत गराउने अभियानअन्तर्गत औपचारिक छलफल सुरु भएको उनले बताइन् ।

जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका आफैँले छाउप्रथा मान्दा यो कुसंस्कारविरुद्धको अभियानमा चुनौती रहेको अगुवा महिला बताउँछन् । ‘कुसंस्कारविरुद्ध लड्न नसक्दा कतिपय महिला जनप्रतिनिधि, शिक्षिका आफैँ छाउगोठमा बसिरहेका छन्,’ छाउपडी अन्त्यको अभियानमा सक्रिय पशुपति कुँवर भन्छिन्, ‘अब उहाँहरू नै अघि आउनुपर्छ । छाउपडी कुसंस्कार हो भनेर बुझेकाहरू नै गोठमा बस्दा चेतनाको कमी भएकालाई के भनेर बुझाउने ?’

तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढा जनप्रतिनिधि, शिक्षिका, स्वयंसेविका छाउगोठबाट बाहिर आउन सके मात्रै छाउपडी प्रथा अन्त्य गर्न सजिलो हुने बताउँछिन् । ‘जसले समाजको नेतृत्व गर्छ, उही मान्छे छाउगोठमा बसेसम्म यो प्रथा हटाउन असम्भव छ,’ उनी भन्छिन्, ‘स्थानीय तहहरूले सबैभन्दा पहिले सरकारका प्रतिनिधिलाई छाउगोठमा बस्न नदिने र बसेको पाइए कारबाही गर्नुपर्छ ।’

छाउ भएका शिक्षिकालाई विद्यालय जानसमेत अवरोध छ । तुर्माखाँद–८ को सरस्वती प्राविकी शिक्षिका जमुना रावल पहिले–पहिले छाउ भएका वेला पनि विद्यालय जान्थिन् । ‘म सुरुसुरुमा महिनावारी भएका वेला विद्यालय पनि गएको हो । तर, विद्यालयनजिकै देउताको मन्दिर भएकाले त्यहाँ जान मिल्दैन भनेर विरोध भयो । त्यसैले अहिले महिनावारी भएका वेला म बिदा लिएर बस्छु,’ उनले भनिन्, ‘हाम्रो गाउँमा छाउ नबार्ने एकजना वडा सदस्य थिइन् । उनले सुरुमा महिनावारी बारिनन् । त्यसपछि कसको छोरी हो रु कहाँबाट ल्याएको हो रु भैँसी पाल्ने गोठमा बस्दिनँ भन्ने राजाको छोरी हो कि भनेर उनलाई समाजले बहिष्कार गरे ।’ यसरी समाजकै डरले चेतनशील महिलाहरू पनि छाउगोठमा बस्न बाध्य छन् ।

अछाम मात्र होइन, सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीवरिपरि नै छाउगोठ छ । कैलालीको गोदावरी–१२ का वडा सदस्य बाली साउदको घरमै छाउगोठ छ । उनका छोरी र बुहारी महिनावारी हुँदा अहिले पनि छाउगोठमै बस्छन् । अरू सबैले छाउगोठ भत्काए मात्र आफूले पनि भत्काउने बालीकी श्रीमती रम्बाको भनाइ छ । तर पनि महिनावारी भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र पस्न नदिने उनले स्पष्ट पारिन् । ‘सबैतिर भत्काए हाम्रो छाउगोठ पनि भत्काउने कुरा भएको छ । तर, छाउ भएको चार दिनसम्म छोरी–बुहारीलाई घरभित्र बस्न दिन मिल्दैन,’ रम्बाले भनिन्, ‘श्रीमान् जनप्रतिनिधि मात्र होइन, धामी पनि हुनुहुन्छ । महिनावारी भएको महिला घरभित्र छिरे उहाँ काम्नुहुन्छ ।’