बैंकिङ प्रणाली गो–एएमएलमा, शंकास्पद गतिविधिको सूचना तत्कालै

maitrinews

 

काठमाडौं । वाणिज्य बैंकहरूले आजदेखि वित्तीय जानकारी एकाइमा पेस गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबार÷क्रियाकलापको प्रतिवेदन अनिवार्य विद्युतीय माध्यम गोएएमएल–प्रोडक्सन इन्भाइरोमेन्टबाट पेस गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले लामो समयदेखि प्रयास गरेको यो प्रणाली आजदेखि लागु भएको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको हो । जसअनुसार शंकास्पद गतिविधिको सूचना वित्तीय सूचना एकाइले तुरुन्तै पाउनेछ ।

गो एएमएल वित्तीय इन्टिलिजेन्स एकाइले विकास गरेको एकीकृत सफ्टवेयर सोलुसन हो जसलाई संयुक्त राष्ट्रसंघ लागुऔषध तथा अपराध कार्यालयले वित्तीय अपराध नियन्त्रणको रणनीतिको रुपमा विकास गरेको हो । यस्ता अपराधमा सम्पत्ति शुद्धीकरण तथा वित्तीय आतंकवाद पर्छन् । मूलतः विकासोन्मुख देशहरूमा हुने सम्पत्ति शुद्धीकरणलाई रोक्न यो व्यवस्था अघि सारिएको हो ।

नेपालको केन्द्रीय बैंकले पनि सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० को नियमअनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई गो(एएमएल सफ्टवेर राख्न निर्देशन दिइसकेको छ ।

अति कम विकसित र विकासोन्मुख देशहरूबाट आउने वित्तीय आतंकवाद र लागुपदार्थको कारोबारमा प्रयोग हुन सक्छ भन्ने अमेरिकी आशंकाका कारण यस्तो व्यवस्था अघि सारिएको हो । यसरी प्राप्त भएका कारोबार विवरणहरूमध्ये सम्पत्ति शुद्धीकरणमा हुन सक्ने विवरणमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइनेछ । जसले नेपालमा हुन सक्ने सम्भावित सम्पत्ति शुद्धीकरणलाई रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । गो(एएमएल लागु भएपछि पैसा वा चेक जम्मा गर्नेको विवरण प्रक्रियाबद्ध हुनेछ जुन राष्ट्र बैंकले नियमन गर्नेछ । यो प्रणालीले अपराधिक तथा अवैधानिक बाटोबाट आर्जित रकम बैंकमा जानबाट रोक्छ ।

गो–एएमएलअनुसार पहिले एउटा निश्चित प्रारूपमा बैंकहरूले विवरण पठाउने गरेकोमा अब मान्यताप्राप्त गो–एएमएल प्रणालीमा रहेर पठाउने छन् । यसले सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्न, आतंकवादी गतिविधिबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम हटाउन मद्दत गर्छ । यो प्रणालीले कुनै एउटा व्यक्तिले गरिरहेको सम्पूर्ण बैंकिङ कारोबार देखाउँछ ।

व्यवस्थाअनुसार रकम जम्मा गर्नेको अब बैंकहरूले गो–एएमएलमै समावेश गर्नुपर्नेछ । हाल आवश्यक कागजात बैंकहरूले भौतिक रूपमा वा इन्टरनेटको माध्यममार्फत् बुझाउँदै आएका छन् । तर, अब सबै विवरण सिस्टममा हुने भएकाले छुट्टाछुट्टै विवरणहरू बुझाइरहनुपर्ने झन्झट रहँदैन । तर, केही लामो समय भने लाग्न सक्छ । गो–एएमएलमा गएपछि बैंकमा ग्राहकले जम्मा गर्ने रकमको स्रोत खुलाउनुपर्ने हुन्छ । यसैगरी प्रक्रिया कार्यान्वयन भएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिनेछ । अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण राष्ट्र बैंक पठाइने गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले के गर्नुपर्ने ?
व्यवस्थाअनुसार आवश्यक विवरणहरू नखुलेको कुनै वायर स्थानान्तरण शंकास्पद लागे त्यस्तो वायर स्थानान्तरणलाई अस्वीकार वा स्थगित गरी तत्काल सम्बन्धित निकायमा जानकारी गराउनु पर्नेछ ।

ग्राहकले अन्तर्राष्ट्रिय वायर ट्रान्सफरबापत रकम प्राप्त गर्न उपलब्ध गराएको विवरण स्थानीय वायर स्थानान्तरणसँग सम्बन्धित देखिए सम्बन्धित बैंक वा वित्तीय संस्थाले स्थानीय वायर स्थानान्तरणमार्फत रकम पठाउने व्यक्ति वा संस्थाको विवरण तयार गर्नुपर्नेछ । साथै, एउटै व्यक्ति वा संस्थाले यस प्रकृतिको कार्य ग्राहक पहिचान विवरणसँग मेल नखाने गरी पटक–पटक गरेको पाइएमा वित्तीय जानकारी एकाइलाई जानकारी गराउनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफूले जारी गरेका विद्युतीय उपकरण वा कार्डको विदेशमा भएको प्रयोग ग्राहकले आफूलाई दिएको जानकारी वा उद्देश्यअनुरूप भए÷नभएको र विदेशी बैंक वा वित्तीय संस्थाले जारी गरेको विद्युतीय उपकरण वा कार्यको प्रयोग आफ्नो संयन्त्रमार्फत भएको प्रयोगको समेत निरन्तर अनुगमन गर्नुपर्नेछ । यसरी अनुगमन गर्दा शंकास्पद देखिए त्यस्तो विद्युतीय उपकरण वा कार्डको प्रयोगमा रोक लगाई वित्तीय जानकारी एकाइलगायत सम्बन्धित अन्य निकायमा तत्काल जानकारी गराउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले कुनै व्यक्ति वा संस्थाले सीमाभन्दा बढी स्वदेशी वा विदेशी मुद्राको कारोबार गरे त्यस्तो विवरण कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी एकाइमा उपलब्ध गराउनु पर्नेछ । कारोबारका लागि छुट्टाछुट्टै टीटीआर पेस गर्नुपर्नेछ । अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गर्छ । गो–एमएलमा गएपछि १० लाखभन्दा बढी कारोबार संकलन गर्ने, झिक्ने तथा ट्रान्सफर गर्ने रकम दिनभरिमा फरकफरक शाखा र समयबाट डिपोजिट भए पनि देखिने हुन्छ । अब सबै कारोबारको विवरण बैंकको कोर बैंकिङ सिस्टम हुँदै गो–एएमएलमा ठोकिन्छ ।

गो–एएमएलमा जान चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नुपर्ने हुन्छ । माघ १ गतेबाट बैंकले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्दै छ । यसको अर्थ दैनिक १० लाख भन्दा बढीको कारोबार गर्ने सर्वसाधारणको टीटीआर अर्थात ९थ्रेस होल्ड ट्रान्ज्याक्सन रिपोर्ट० मार्फत् सूक्ष्म निगरानी हुनेछ । यसमा एकै व्यक्तिको खातामा धेरै व्यक्तिले एकै दिनमा पटक–पटक गरी १० लाखभन्दा बढी रकम झिक्ने वा डिपोजिट राख्ने काम गर्‍यो भने त्यो विवरण सीधै वित्तीय जानकारी एकाइ ९एफआईयू० मा जानेछ ।

व्यवस्थाअनुसार बैंकहरूले आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रवृत्तिको सबै कारोबार, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको व्यक्ति, संस्था वा कानुनी प्रबन्धसँगको व्यावसायिक सम्बन्ध वा कारोबारमा शंकास्पद कारोबार प्रतिवेदन बनाउनुपर्नेछ । जसमा तीनपुस्ते खुलाउनुपर्नेछ भने चेक जम्मा गर्ने व्यक्तिको विविध जानकारी उपलब्ध गराउनुपर्नेछ । राष्ट्र बैंकका अनुसार ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूले २०७७ साउन १ गतेदेखि मात्र अनिवार्य रूपमा यस प्रणालीमार्फत् मात्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।