सञ्चालक प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

maitrinews

 

काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । प्रसाईं भने फरार छन् । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।

निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएनन् ।

बुधबार साँझबाटै उनको मोबाइल पनि स्वीच अफ रहेको स्रोतले बतायो ।

प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर डा। गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए । द्धारिका होटलमा मंसिर १५ मा उपाध्यक्ष गिरीले घुस मागेको प्रसाईंको दाबी छ ।

उनले भनेका थिए, ‘ममाथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो । मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०र२० लाख, एक करोडसम्म भनेको बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनेँ ।’