झण्डा गाड्दैमा कब्जा हुँदैन : सञ्चारमन्त्री

maitrinews

 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताउनुभएको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने स्पष्ट गर्नुभयो ।

बुधबार साँझ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विवादित लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो। त्यही सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो ।
‘नेपाल सरकारले त्यस जग्गामाथि छानबिन गरिरहेको छ’, मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यो जग्गा कसैले कब्जा गर्दैमा, झण्डा गाड्दैमा कब्जा हुँदैन।’ उहाँले विप्लव समूहले चर्चामा आउनका लागि जग्गा कब्जाको हल्ला गरेको बताउनुभयो ।

यो जग्गामाथि सरकार आफैँले छानबिन गरिरहेको भन्दै त्यस्तो जग्गामाथि कब्जा गरे भन्नुको कुनै अर्थ नहुने बताउनुभयो ।