अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति

maitrinews

 

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अग्नि   सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत हुनुभएको छ ।

‘बिहान दुई नेताबीचको छलफलमा सभामुखको उम्मेदवार अग्नि सापकोटालाई बनाउने सहमति भएको हो’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘आजै बस्ने सचिवालय बैठकले नाम अनुमोदन गर्छ ।’ यद्यपि, आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो । दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको छ । महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह ४ बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । ‘समसामयिक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले भन्नुभयो ।

उहाँले सभामुखमा सहमति भएको बारे आफुलाई जानकारी दिनुभयो । नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयको टुङ्गो नलाग्दा प्रतिनिधिसभाको बैठक लगातार स्थगित हुँदै आएको थियो ।