कजाकिस्तानको खतरनाक ठाउँ

maitrinews

 

कजाकिस्तानको द पोलिगनको इतिहास आफैमा खतरनाक छ । सन् १९४९ देखि १९८९ को बीचमा हरेक वर्ष त्यहाँ १० वटा परमाणु बमको परीक्षण गरिएको थियो । शीतयुद्धको बेला तत्कालीन सोभियत सङ्घले परमाणु बमको परीक्षणका लागि त्यस ठाउँमा सबैभन्दा ठूलो केन्द्र स्थापना गरेको थियो । सोभियत सङ्घले त्यहाँ ५०० वटा परमाणु बम परीक्षण गरेको थियो ।
त्यहाँ सुरुमा मानिसको खासै बसोबास थिएन । रुसी जार निकोलसले सन् १८५४ मा सरकार विरुद्धमा बोल्ने लेखक फ्योदोर दोस्तोवस्कीलाई निर्वासित गरेर त्यस ठाउँमा लखेटेका थिए । सन् १९४७ मा परमाणु परीक्षणका लागि त्यस ठाउँलाई छनोट गर्दा त्यहाँ झण्डै ७० हजार मानिस बसोबास गर्दथे । परमाणु बम परीक्षणबाट उत्सर्जित विकिरणहरूका कारण त्यहाँ आसपासका मानिसमा निकै गम्भीर स्वास्थ्य समस्या देखिएका थिए । महामारीको रूपमा क्यान्सर रोग देखियो जसका कारण धेरै परिवारले आत्महत्यासमेत गर्न बाध्य भए । सन् १९९१ अगस्त २९ मा कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेवले उक्त परमाणु परीक्षण केन्द्र औपचारिक रूपमा बन्द गरिदिए । सोही दिन अर्थात् अगस्त २९ लाई संयुक्त राष्ट्रसङ्घले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ ।