प्रधानमन्त्री ओली र मोदीद्वारा आईसीपीको उद्घाटन

maitrinews

 

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र विराटनगरमा अवस्थित एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएको छ। नेपाल र भारतको दुई प्रधानमन्त्रीले उक्त चौकीको भिडियो कन्फरेन्समार्फत मंगलबार उद्घाटन गर्नुभएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट आईसीपी इन्टिग्रेटेट चेक प्वाइन्टको संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । यो नेपाल भारत दोस्रो भन्सार जाँच चौकी हो।
यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ। आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ। दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ। जोगबनी र भन्सार क्षेत्रमा लाग्ने घण्टौंको भीड अन्त्य हुने बताइएको छ।

जोगबनी नाकामा लाग्ने अत्याधिक भिडलाई नियन्त्रण गर्ने भनी निर्माण भएको एकिकृत भन्सार जाँच चौकी आईसीपी भन्सारको काममा पनि सजिलो र छिटो हुने बताइएको छ।

त्यस अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै भन्नुभयो, ‘मित्रताका आधारमा काम गर्‍यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौं । वार्ताको माध्यमबाट हामीबीच थाँती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी पनि सुल्झाउने बेला आएको छ।

उहाँले दुबै देशमा स्थायी र बहुमतको सरकार भएकाले यो उपयुक्त अवसर भएको बताउनुभयो।

‘मेरो सरकार समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ,’ ओलीले भन्नुभयो।

उहाँले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै भन्नुभयो,
‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु। यहाँको भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने छ ।

प्रतिउत्तरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्ध पछिल्लो समयमा अभूतपूर्व सहयोग देखिएको बताउनुभयो

उहाँले भन्न्नुभयो , ‘हामीले केही नयाँ क्षेत्रमा सहयोग गरेका छौं। मलाई आशा छ यो नयाँ दशक भारत(नेपाल सम्बन्धको स्वर्णिम दशक बनोस्।

उहाँले नेपाल भ्रमणको निम्तो दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै भन्नुभयो, ‘मलाई निमन्त्रणा दिनुभयो धन्यवाद छ। म यस वर्षको कार्यतालिका बनाउँदैछु । ‘यस वर्ष म जरूर नेपालीसँग समय बिताउने छु।

दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीसँगै उहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेश सचिव गोख्ले, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको सहभागिता थियो ।