आफूविरुद्धको विरोध प्रदर्शन नियमित प्रक्रिया : सापकोटा

maitrinews

 

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफूविरुद्ध भएको विरोध प्रदर्शनलाई लोकतान्त्रिक पद्धतिभित्रको नियमित प्रक्रियाको संज्ञा दिनुभएको छ । सोमबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गर्दै अदालतमा रहेको विषयमा बोल्नु परिपक्वता नहुने सापकोटाले बताउनुभयो ।
तपाईँको बारेमा बाहिर प्रश्न उठेका छन् नि ? सभामुख नबनेर सत्य निरुपण तथा मेलमिलापको कामलाई सहयोग गरेको भए हुन्थ्यो जस्तो लाग्दैन ?’ भन्ने प्रश्नमा सापकोटाले भन्नुभयो, ‘अदालतमा भएको विषयमा बोल्नु परिपक्वतारबुद्धिमानी हुँदैन। बाहिर उठेका प्रश्नहरु निरुपण हुँदै जानेछ। यो लोकतान्त्रिक पद्धतिमा चलिरहने प्रक्रिया हो।’
त्यस्तै सार्वजनिक महत्वका विषयलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने पनि सभामुख सापकोटाले प्रतिबद्धता जनाउनुभयो। सदनमा दर्ता भएका विधेयकहरु अध्ययन गरेर प्राथमिकताका आधारमा अघि बढ्ने उहाँले बताउनुभयो।
त्यस्तै सभामुख सापकोटाले एमसीसीका बारेमा बहस छेडिएकाले यसलाई अनुमोदन गर्न हतार गर्न नहुने बताउनुभयो। उहाँले भन्नुभयो , ‘एमसीसीबारेबहस छेडिएको छ। जब बहस छेडिन्छ, निचोडतिर पुग्छ। अध्यनन गर्दै जाउँ न सबैले। यसलाई अहिले किन हतार गर्नुपर्‍यो र ?’

सापकोटाले हिजोसम्म आफू नेकपाको सांसद र नेता भए पनि अब सबैको साझा भएको बताउनुभयो। आफूलाई प्रतिपक्षले पनि स्वीकार गरेकाले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने सापकोटाले प्रतिबद्धता जनाउनुभयो।

प्रतिनिधिसभामा दर्ता भएको ‘कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीरण गर्न बनेको विधेयक’ लाई सदनमा पठाउन हस्ताक्षर गरेर सापकोटाले सभामुख पदको जिम्मेवारी सम्हाल्नुभएको हो ।