गिरिजाले ठूल्‍ठूला आक्रमण गर्नुस् भन्‍नुहुन्थ्यो : प्रचण्ड

maitrinews

 

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाएको खुलासा गर्नुभएको छ। तत्कालीन नेकपा माओवादीले सञ्‍चालन गरेको जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा प्रचण्डले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं काँग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराउनुभएको हो ।

नेपाली काँग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु पर्‍यो भन्‍नुहुन्‍थ्यो मलाई। फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो, उहाँले भन्नुभयो,सदरमुकाम हान्‍नुपर्‍यो भन्‍नुहुन्‍थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो। प्रचण्डले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताउनुभयो।
उहाँले तत्कालीन एमाले र माओवादीबीच संविधान निर्माणतर्फ जाने भन्‍ने सहमतिकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको बताउनुभयो। देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन तत्कालीन ७ राजनीतिक दल र तत्कालीन नेकपा माओवादीको समझदारीमा भएको प्रचण्डको भनाइ थियो।