इतिहासकै धनी व्यक्ति
ज्याकब फग्गर आजसम्म जीवित हुन्थे भने उनी अहिलेका विश्वका सर्वाधिक धनी बिल गेट्सभन्दा चार गुणा धनी हुने थिए । फग्गरका जीवनीकार तथा वालस्ट्रिट जर्नलका पूर्वसम्पादक ग्रेग स्टाइनमेट्जका अनुसार यी जर्मन ब्याङ्कर तथा व्यापारीलाई ‘द रिच वन’ नामले चिनिन्थ्यो । उनको समय थियो सन् १४५९ देखि १५२५ सम्म । उनको त्यस समय यति धेरै सम्पत्ति कमाएको थिए जुन आजको मूल्यमा ४ खर्ब अमेरिकी डलर बराबरको हुन्थ्यो । सन् २०१५ मा प्रकाशित आफ्नो किताब द रिचेस्ट म्यान हु एभर लिभ्डमा ग्रेगले फग्गरलाई इतिहासका सबैभन्दा धनी व्यक्ति भनेका छन् । पुनर्जागरण कालका धनाढ्य उनले आफ्नो सम्पत्तिका कारण रोमन साम्राज्य तथा पोप हल्लाउने तागत राख्दथे किनभने ती दुवैलाई उनले ठूलो परिमाणमा रकम प्रदान गर्दथे । स्पेनका राजा चाल्र्स प्रथमलाई रोमका राजा बनाएर चाल्र्स पाँचौँको दर्जा दिने व्यक्ति उनै थिए । उनी निकै दानी पनि थिए । उनले दक्षिणी जर्मनीको अग्सबर्गमा एक सामाजिक आवास निर्माण गरेका थिए । फग्गरको त्यो आवास अहिले पनि सग्लै छ र त्यहाँका बासिन्दा अहिलेसम्म पनि वार्षिक १ डलर बराबरको रकम भाडा तिरेर अपार्टमेन्टमा बस्न पाउँदछन् ।