काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन सुरु

maitrinews

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली तारलाई भूमिगत बनाउने काम सुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गर्नुभयो ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

शहरको सौन्दर्यता बढ्ने विश्वास

दुई क्षेत्रको काम गर्नका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग सन् २०१९को मार्चमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सुरु गरिएको आयोजनाको काम सन् २०२१ को अक्टोबरभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

हाल भइरहेको जमिनमाथिको ९ओभरहेड० वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

‘हावाहुरी, पानी, चट्याङ आदिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुनेछ ।