पशुपतिनाथमा १४२ किलो सुनको जलहरी

maitrinews

 

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको एउटा जलहरी
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा रहेको जलहरी निर्माण गर्नका लागि अनुमानित १४२ किलो सुन चाहिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन्।
हाल चाँदीको धातुबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको छलफल तथा परामर्शपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा कोष पुगेको बताइएको छ।
कोषका सदस्यसचिव डा। प्रदीप ढकालका अनुसार सुन पवित्र तथा सर्वोत्कृष्ट धातु मानिने भएकोले सुनकै जलहरी बनाउने निर्णय भएको हो।

कोषले मङ्गलवार सार्वजनिक आव्हान गर्दै न्यूनतम एक तोलादेखि अधिकतम एक किलोसम्म सुन वा सो बराबरको रकम दान गर्न सकिने बताएको छ।

ढकालले भने, कैयन् दाताले एक्लैले दान गर्न इच्छा व्यक्त गरेपनि आम भक्तजनको अपनत्व बढाउन सुनदानको परिधि तोक्दै सार्वजनिक आव्हान गरेका हौँ।

विज्ञको परामर्शमा पशुपतिका पुजारी तथा भट्टको सहयोगमा जलहरीको नापजाँच गर्ने काम सकिएको र हाल नापनक्सा बनाउने काम भइरहेको उनले बताए।

विसं २०७७ को शिवरात्रीसम्म सुनको जलहरी निर्माण सम्पन्न गरिसक्ने कोषको लक्ष्य छ।
कोष परिसरभित्रै कडा सुरक्षाबीच कालिगढले निर्माण गर्ने जलहरीलाई शिवलिङ्गको पीठिकामा भने भट्टहरूले नै जडान गर्ने बताइएको छ।

सो कार्य गर्न भट्टहरूलाई आवश्यक तालिमको व्यवस्था मिलाइएको कोषले जनाएको छ।

सदस्यसचिव ढकालले भने,अनुमानित १४२ केजी सुन खपत हुने र ज्यालासहित करिब ९२ करोड खर्च हुनेछ।

कोषको अनुमानमा जलहरी उठेको भागमा १४ गेज मोटाइ भएको सुनको प्रयोग गर्दा २९।१ किलो, बाहिर उठेको भागमा १६ गेज मोटाइ भएको सुनको प्रयोग गर्दा १८।१ किलो, भित्र उठेको भागमा १६ गेज मोटाइ भएको सुनको प्रयोग गर्दा १०।८ किलो खपत हुनेछ।
त्यसैगरि १४ गेज मोटाइ भएको जलहरी बनाउन ३४।६५ किलो, १६ गेजको नाग बनाउन २८।६१ किलो र छ गेजको नागकन्या मूर्ति बनाउन ७।९ किलो सुन लाग्ने अनुमान गरिएको छ।

त्यसका अतिरिक्त कूल खपत हुने सुनको १० प्रतिशत अर्थात् झन्डै १२।९२ किलो सुन जगेडा स्वरुप रहने छ।

आवश्यकताभन्दा बढी सुन प्राप्त भएमा पशुपतिनाथ मन्दिरको गजुर तथा बसाहा लगायतका मूर्तीमा रसायनिक प्रक्रियाले सुनको जलप लगाइने योजना छ।

झन्डै दुई वर्षदेखि जलहरी निर्माणबारे चर्चा हुँदै आएपनि केहीको फरक मत रहँदै आएकोले ढिलाइ भएको कोषको भनाइ छ।

दाताले विभिन्न पाँच ब्याङ्कको माध्यमबाट तथा बेनामे तरिकाले दान गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।