पशुपतिमा थरिथरिका बाबा, नागा बाबाको रमिता

maitrinews

काठमाडौं । भस्मेश्वर घाटको पारिपट्टि चन्द्रशिवालय क्षेत्रमा बाहिरबाट आएका झण्डै दुई दर्जनजति साधुहरु सुतिरहेका छन् । केही साधुहरु मध्यदिनमा धुनी तापेर गाँजासँगै रमाइरहेका छन् । कोही साधुचाहिँ पशुपति क्षेत्रमा बञ्चरोले रुख ढालिरहेको अवस्थामा पनि भेटिए । केही नागा बाबा रमिता देखाउँदै थिए ।

चारैतिर रमितेहरुको भीड छ । छिनछिनमा छेवैमा रहेका एक साधु झट्ट रिसाउँछन् । ‘जुत्ता लगाएर धूनी टेक्न आउनी ? केको रमिता हो ? हिन्दी भाषामा उनको गर्जन सुनेपछि एकाएक सबैको सात्तो जान्छ । केही पछि हट्छन् । एकछिनपछि फेरि पुरानै अवस्था ।

शिवरात्रिको दुई दिनअघि पशुपतिको भष्मेश्वर घाटको सम्मुखमा रहेको सो शिवालय क्षेत्रमा बाहिरबाट आएका पाहुना साधुहरुले खचिखचाउ भएको छ । त्यही भीडबाट एक साधुले साँझ प्रसाद खान आउने निम्तो दिन्छन् । अर्का साधु आफूले भस्म नदलेको भन्दै फोटो खिच्न इन्कार गर्छन् । यसरी नै चलिरहेको छ शिवरात्रिपूर्वको पाशुपत क्षेत्रको अवस्था ।

साधुहरुको हरेक गतिविधिमा अमूर्त सम्पदाको झल्को पाइन्छ । त्यही गतिविधिले रोमाञ्चक बन्छ पशुपतिको माहोल । दिनभरि चिरनिद्रमा हराउने र रातभरी साधनामा लिप्त हुन्छन् वास्तविक अघोरी एवं साधकहरु । अरुको भने हामीहरुको जस्तै सामान्य जनजीवन हुन्छ भने केहीको मागिखाने भाँडो हो– पशुपतिको जात्रा ।

दुईदिन अघिदेखि नै सो क्षेत्रमा आउने साधकहरुले भाङ, धतुरो र गाँजाहरुको अर्डर लिन सुरु गरिसकेका छन् । फाल्गुन महिनाको मध्यान्हमा लागेको घामले गर्मी सुरु हुन लागेको संकेत गर्दैछ । तर, कसैलाई पनि गर्मीको महसुस भएको देखिँदैन । यस्तै थरिथरिका साधकहरुको गतिविधिसँगै शिवरात्रिको गतिविधि बढ्न थालेको छ, पशुपति क्षेत्रमा ।

आर्यघाटमा बलिरहेको शवबाट निस्किएको सल्फर डाइअक्साईड युक्त गन्धले मन्त्रमुग्ध भएका नाथ सम्प्रदायका अघोरीहरु मध्यदिनमा बाक्लो च्यादर ओढेर आफ्नो थकान मेटिरहेका छन् । ‘रातमें भगवानका स्तुति करना है । अभि मुझे सोने दो ।’ पशुपतिको यात्राबारे प्रतिक्रिया लिन खोज्दा एउटै वाक्यमा उत्तर दिएर अर्को पट्टि फर्किए भस्मेश्वर घाटको ठीक सम्मुखमा भेटिएका एक अघोरीले ।

साधक थरीथरीका

पशुपतिमा आएका केही साधुहरुलाई यात्राको बारेमा कुराकानी गर्दा धेरै भारतका विभिन्न प्रान्तहरुबाट आएका साधकहरु भेटिन्छन् । नाथ, अघोर, कापालिक जस्ता सम्प्रदायमा आवद्ध भएका साधकहरुले आफ्नो सम्प्रदायका साधुहरुको पहिरन र व्यवहारमा नै उनीहरुको परिचय भेटिन्छ । अघोरीहरु प्रायः अरुसँग धेरै कुराकानी गर्न रुचाउँदैनन् । उनीहरु केही समय शयन गर्छन् भने बाँकी समय साधनामा नै समय बिताउँछन् । उनीहरुको साधना विशेषगरी राति धेरै चल्ने गरेको उनीहरु बताउँछन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यो वर्ष मात्रै पाँचदेखि छ हजारको हाराहारीमा विभिन्न सम्प्रदायका साधकहरु पशुपति आउने अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म भने आधा पनि साधकहरु आएका छैनन् । बाहिरबाट आएका साधकहरुको लागि खान र बस्नको लागि चन्द्र शिवायल क्षेत्रमा नै व्यवस्थापन मिलाइएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले यो वर्ष स्वदेशी र विदेशी गरी करिब २० लाखको हाराहारीमा दर्शनार्थीहरु आउने अपेक्षा राखिएको बताए । यो वर्ष सुरक्षा र व्यवस्थित रुपमा दर्शनार्थीहरुले दर्शन गर्न पाउने व्यवस्था गरिएको बताए ।

उनले अतिरिक्त शुल्क तिरेर सिधै दर्शन गर्न पाउने व्यवस्था हटाइएको भन्दै यो वर्ष व्यवस्थापनमा समस्या भयो भने पूर्वीद्वार समेत खोलेर भएपनि दर्शन सहज गराइने उनले बताए ।

शिवरात्रि मेलामा भ्रमण वर्षको प्रचार

शिवरात्रिको दर्शन गर्न जानेहरुलाई लक्षित गर्दै भ्रमण वर्षको समेत विज्ञापन गरिएको छ । कार्यकारी निर्देशक खतिवडाका अनुसार भ्रमणवर्ष २०२० चलिरहेको परिप्रेक्षमा यो वर्ष शिवरात्रि मेलालाई पनि भ्रमणवर्षसँग जोडिएको छ ।

विष्णुको भक्तलाई शिवरात्रिको माहोल

हातमा श्रीरामको नाम लेखिको बाला, शिरमा नारायण र विष्णुको नाम अंकित काठैकाठले बनेको टोपीमा सजिएर एक साधु क्यामेराको नजिक आए । उनी आफूलाई श्रीरामका भक्त भन्न रुचाउँछन् । तर, शिवरात्रि मनाउनको लागि अहिले पशुपति क्षेत्रमा आएको बताउने उनी आफू शिवको समेत अनुयायी रहेको बताउँछन् । तिनै ‘रामभक्त’ साधक पशुपतिमा आकर्षणका केन्द्र थिए । भस्म दलेर पशुपतिमा बाबाहरु विष्णुका भक्त हुनु धेरैको लागि अचम्मको विषय बन्नसक्छ । तर, उनी भने शिरमा श्रीरामको नाम राखेर शिवको आराधना गर्न पशुपति आएको बताउँछन् ।

पशुपति क्षेत्रमा एक जना जोगी काँचो रुखमा बन्चरो हानिरहेका थिए । अर्का अर्धनग्न जोगी छेउमा उभिएर हेरिरहेका थिए । हामीले किन रुख काटेको बाबाजी भनेर सोध्यौं । उनले भाइ यो फोटो मेरो ह्वाट्सएपमा पठाइदिनू है भन्दै भारतीय मोबाइल नम्बर थमाए ।

अयोध्याको अखडाबाट पशुपतिसम्मको यात्रा

‘वशुधैव कुटुम्बकम्’ पशुपति क्षेत्र विकास कोषको स्लोगन हो यो । महाशिवरात्रिको माहोल चलिरहँदा पवित्र धार्मिक स्थल पशुपति क्षेत्रमा आएकाहरुलाई यही श्लोगनले पनि अपनत्व अनुभव गराएका बताउँछन् केही साधकहरु । यतिबेला नेपालका विभिन्न ठाउँहरु र भारतबाट समेत साधकहरुको आगमन बढ्ने क्रम जारी हो । त्यसैमध्येका एक हुन् चरणदास ।

उनलाई यो श्लोगनले धेरै मन छोएको उनी सुनाउँछन् । अयोध्याको एक शैव अखडाबाट शिवरात्रिका लागि पशुपति आएका चरण दास मंगलबारमात्रै काठमाडौं आइपुगेका हुन् । उनीसँगै ५ जनाको टोली दुई दिन लगाएर काठमाडौं आएको हो । श्रीरामको जन्मभूमिमा बसोबास गर्ने शिवभक्त दासको अयोध्यादेखि काठमाडौंसम्मको यो पहिलो धार्मिक यात्रा हो । उनी शिवरात्रि सम्पन्न भएपछि मुक्तिनाथसम्म पुग्ने तयारीमा छन् । तर, धेरै चिसो हुन्छ भन्ने सुनेकोले जाने वा नजाने भन्ने विषयमा यकीन नभएको उनी सुनाउँछन् ।

उनी भन्छन् ‘अबको केहीदिन यही पवित्र पाशुपत क्षेत्रमा समय बित्नेछ । त्यतिन्जेलसम्मको लागि नजिकै रहेको आश्रममा बन्दोबस्त गरिएको छ । जति अट्छौ त्यतै सुत्छौं, नअट्नेहरु त्यहीँ रहेका सानातिना मन्दिरहरुको ओतलागेर सुत्ने तयारीमा छन् ।’

भोक र लोभ त्यागेका र त्याग्न नसकेकाहरुको मिश्रण

सन्यासी एवं अघोरीहरु आफैंमा भोक लोभ, मोहबाट मुक्त हुनुपर्ने हो । तर, पशुपतिमा आउने सबै साधकहरुमा यो गुण देखिँदैन । त्यसैमध्ये पनि केही भने वास्तविक साधकहरु पनि त्यहाँ भेटिन्छ । भेट्न जाँदा उनीहरु एकदुई प्रश्नको उत्तर दिन्छन्, त्यसपछि आफ्नो ध्यान भंग नगर्नको लागि चेतावनी दिएर आफ्नै सुरमा लाग्छन् । केही साधुहरु भने साधुको भेषमा व्यापारको खोजीमा भेटिन्छन् ।
आफू बृन्दावनबाट आएको बताउने एक साधुले झण्डै ५ किलोजति गाँजा घाममा सुकाइरहेका थिए । त्यो उनीहरुको हरेक वर्षको व्यापारको सिलसिला हो । कुराकानीको क्रममा उनी भन्छन् अघिल्लो वर्ष भारु २४ हजार रुपैयाँको गाँजाको व्यापार गरेका थियौं ।

यो वर्ष अघिल्लो वर्षकोभन्दा अलि धेरै छ । उनी ५ जना साधुहरुको साथमा पशुपति आएका हुन् । उनी शिवरात्रि शिवको स्तुतिसँगै गाँजाको व्यापारको लागि समेत आएको पनि बताउँछन् ।

फागुन ९ गते शुक्रबार शिवरात्रीको साँझ पशुपतिमा विशेष रमझम हुने गर्छ ।