समृद्धिमा जुट्न प्रधानमन्त्रीको आह्वान

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा सरकार लागि रहेको बताउनुभएको छ ।
७० औँ प्रजातन्त्र दिवसका अवसरमा बुधबार राजधानीको सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरन्नोति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा रहेको बताउनुभयो ।

उहाँले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य गरिएको बताउँदै अब समृद्ध नेपाल निर्माणमा योगदान गर्न आम जनतामा अपिल समेत गर्नुभयो ।

जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति म पुनः एकपटक हार्दिक श्रद्धासुमन अर्पण गर्दछु’प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा सफल बनाउन एकजुट भई योगदान गर्न पनि सवैमा आव्हान गर्नुभयो ।

१०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भर्इ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
बुधबार प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरेका छन् । कार्यक्रममा प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।