सञ्‍चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा

maitrinews

 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिनुभएको छ । सोबारे जानकारी आफूलाई प्राप्त भएको सभामुख अग्नी सापकोटाले प्रतिनिधि सभा बैठकलाई बताउनुभएको छ ।
बुधबार विवादास्पद अडियो सार्वजनिक भएपछि बिहीबार मन्त्री बाँस्कोटाले राजीनामा दिनुभएको हो ।
प्रमुख विपक्षी नेपाली काँग्रेस तथा अन्य दलले मन्त्री बाँस्कोटालाई भ्रष्टाचारसम्बन्धी गम्भीर आरोप लागेको भन्दै छानबिनको माग गर्दै बिहीबार संसद्‌को बैठक अवरोध गरेपछि सदन पुनः सञ्चालन गर्ने प्रयासमा सापकोटाले उक्त जानकारी दिनुभएको हो ।

घुस मागेको भनिएको अडिओसहितका विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न दलले उहाँलाई पदमुक्त गरी अनुसन्धान गर्न माग गरेका थिए।

सभामुख सापकोटाले भन्नुभयो, ‘सञ्चारमन्त्रीको विषय प्रवेश भइसक्यो। औपचारिक पत्र आउने नै छ। अनौपचारिक रूपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ। मैले अनौपचारिक रूपमा प्राप्त जानकारी तपाईलाई गराए। सदनको कारबाही चालउन सहयोग गर्नुहोस्।’

प्रतिपक्षी दलले संसद् अवरोध गरेपछि सभामुख सापकोटाले संसदको बैठक मङ्गलवार १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

विपक्षी सांसदहरूले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध गरेका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएको भन्दै नेपाली कांग्रेसले प्रेस विज्ञप्तिमार्फत् निष्पक्ष अनुसन्धान गर्न समेत माग गरेको थियो।

स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग भएको भनिएको संवादमा बाँस्कोटाले प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको झन्डै साढे दुई मिनट लामो श्रव्य सामग्री बुधवार अपराह्ण हाम्राकुरा डट कमबाट सार्वजनिक भएको थियो।

स्विस कम्पनीका प्रतिनिधि भनिएका मिश्रले मन्त्री बाँस्कोटासँगको उक्त कुराकानी डेढ वर्षअघि नै भएको बताएका छन्।

मिश्रले भने, तपाईँहरूले अडिओमा जे सुन्नुभयो साँचो कुरा त्यही हो। डेढ वर्षअघि त्यो कुरा हुँदा हामीले उहाँलाई प्रस्ताव गरेका होइनौँ, उहाँले नै हो।

के हो सेक्युरिटी प्रिन्टिङ प्रेस ?
स्वदेशमै सुरक्षित मुद्रण गर्ने उद्देश्यले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने नेपाल सकारले निर्णय गरेको थियो।
प्रेस स्थापना हुँदा राष्ट्रिय परिचयपत्र, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, ब्याङ्कका एटीएमदेखि मौद्रिक नोटसम्मको छपाइ नेपालमै गर्न सकिने बताइन्छ।

बिहीबार संसद्‌को सार्वजनिक लेखा समितिमा पनि प्रिन्टिङ प्रेस खरिदको विषयमा छलफल हुने पूर्वनिर्धारित कार्यक्रम थियो।