आदर्शच्यूत भए आफैंले आफूलाई सिध्याउँछ : प्रचण्ड

maitrinews

 

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको नियतिमा खतराका संकेत देखिएको बताउनुभएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले विश्व इतिहासमा कम्युनिष्ट पार्टीको पतन हेर्दा नेपालमा पनि खतराका संकेत देखिएको बताउनुभएको हो ।

‘हामीले चाहे सोभियत संघको कुरा भनौं वा पूर्वी युरोपको कुरा, यस्ता परिघटना हामीले देख्यौं,’ उहाँले भन्नुभयो, ‘यसो हेर्दा हाम्रो पनि नियति त्यता जाने खतराका संकेत अहिले भइसकेका भन्या होइन, मेरो भनाइलाई बढी नबुझियोस् तर सङ्केत त त्यति राम्रा देखिएनन्। आजभोलि यसो घटनाहरू हेर्‍यो मान्छेहरू त बिग्रिने(बिग्रिनेतिर गएजस्तो देखिएको छ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा एउटा कमिसन काण्डमा मुछिएर राजीनामा दिएको भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले नेपालका कम्युनिष्ट संस्कृति, संस्कार, विचार, राजनीति प्रवृत्तिहरूमा थुप्रै समस्याहरु बढेको बताउनुभयो।

‘कम्युनिष्ट पार्टी सत्तामा नहुँदा, आन्दोलनमा हुँदा, क्रान्तिमा हुँदा, निकै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुनसक्ने, जनता जहाँ बस्छन् त्यही बसेर खाएर जनताको मन जित्नचाहिँ सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै पात्रहरु विश्व इतिहासमा छन्,’ प्रचण्डले भन्नुभयो,‘नेपाली इतिहासमा पनि त्यसका संकेत र लक्षणहरु देखिने गरेका छन्। सत्तामा भइसकेपछि पद प्रतिष्ठा लोभ लालचा विभिन्न किसिमका विसंगति, विकृति भ्रष्टाचारजन्य कियाकलाप देखिन थालेका छन्।’