ठेक्कामा चरम लापर्वाही,पप्पुका मात्रै डेढ अर्बका १० वटा ठेक्का

maitrinews

 

काठमाडौँ । साढे ५ अर्ब रुपैयाँ बराबरका ठेक्का अति रुग्ण रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको रुग्ण आयोजनासम्बन्धी प्रतिवेदनअनुसार म्याद थप गर्दा पनि तिनको प्रगति न्यून देखिएको छ । केही समयअघि सार्वजनिक प्रतिवेदनअनुसार ४८ वटा ठेक्कामध्ये प्रायको प्रगति ५० प्रतिशतभन्दा कम छ । ५ अर्ब ३६ करोड १० लाख १९ हजार रुपैयाँका ठेक्कामध्ये ३८ वटाको प्रगति आधाभन्दा कम छ ।
त्यसमा पनि सबैभन्दा कम प्रगति पप्पु कन्स्ट्रक्सनले लिएका ठेक्कामा देखिएको छ । प्रतिवेदनअनुसार पप्पुका ज्वाइन्ट भेन्चर ठेक्का मात्र १० वटा छन् । तिनको ठेक्का रकम १ अर्ब ५१ करोड ९५ लाख ९६ हजार छ । पप्पुले जिम्मा लिएका ठेक्काको प्रगति म्याद थप गर्दा ५० प्रतिशत पुग्न सकेको छैन । केही ठेक्काको भने म्याद थप गरेपछि पनि प्रगति ३ प्रतिशतभन्दा बढी हुन सकेको छैन ।

‘यी सबै अति रुग्ण ठेक्काभित्र पर्छन्,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘जसमा अनियमितता र भ्रष्टाचारको आशंका छ । त्यसैले यी आयोजना अनुसन्धानको दायरामा परेका छन् ।’ काम सन्तोषजनक नभएको र अनियमितता एवं भ्रष्टाचारको आशंका रहेका त्यस्ता आयोजना अनुसन्धानको दायरामा आउने उनले बताए । समयमै काम नगर्ने ठेकेदार र ठेक्का लगाउने दुवै पक्षलाई कारबाही गरिने कोइरालाको भनाइ छ ।

‘आयोजना रुग्ण बनाउने निर्माण व्यवसायी मात्र होइनन्, यसमा ठेक्का लगाउने, हेर्ने पक्ष पनि संलग्न छन्,’ उनले भने, ‘यी सबै आयोगको अनुसन्धान दायरामा परिसकेका छन् ।’ अनुसन्धानका क्रममा आयोजना निर्माणमा नियम पालना भएको छरछैन, समयभित्र काम सम्पन्न भयोरभएन र गुणस्तरीय काम गरिएको छरछैन हेर्ने गरिन्छ । ‘अति रुग्ण ठेक्कामा यी कुनै पनि नियम पालना गरिएको पाइएन,’ उनले भने । आयोगका अनुसार १८ अर्ब ११ करोडका ७ सय १ वटा ठेक्का भने रुग्ण छन् ।

प्रतिवेदनअनुसार ०६४ सालमा सुरु भएका ठेक्का अझै सकिएका छैनन् । यस्ता ठेक्कालाई सरकारले पटकपटक खरिद नियमावली संशोधन गर्दै समय उपलब्ध गराउँदै आएको छ । चालु आवमा चार पटक नियमावली संशोधन गरी सरकारले कामै नगर्ने ठेकेदारलाई सहज बनाइदिएको छ । खरिद नियमावलीको नवौं संशोधनले रुग्ण ठेक्कालाई एक वर्ष समय थप गर्ने व्यवस्था गरिदिएको छ । ‘सरकारले सदाशय देखाएर एक वर्ष म्याद गर्ने व्यवस्था मिलाइदिएको छ,’ सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने, ‘त्यो समयमा पनि काम सकिएन भने ठेक्का तोडिन्छ ।’ काम नसक्नेको ग्यारेन्टी जफत र कामको मूल्यांकन गरेर भुक्तानी लिएको रकमबाट असुल गर्दै ठेक्का तोडिने उनको भनाइ छ ।