ललितपुरमा तीन विदेशी खेलाडी अनुबन्ध

 

काठमाडौं । साविक विजेता ललितपुर प्याट्रिओट्सले एभरेष्ट प्रिमियर लिग ईपीएल टि २० का लागि एकै पटक तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
यसअघि श्रीलंकन उपुल थरंगालाई अनुबन्ध गरिसकेको प्याट्रिओट्सले सोमबार तीन पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ ।

अलराउण्डर द्वय हमम्द अजम र हसन खान तथा लेफ्ट बर्मर फास्ट बलर मिर हम्जालाई ललितपुरले ईपीएलका लागि भित्र्याएको हो ।

तीनै खेलाडी पाकिस्तानका हुन् । मिर हमजालाई गत वर्ष इंग्लिस काउन्टी च्याम्पियनसिपका लागि ससेक्स काउन्टी क्रिकेट क्लबले अनुबन्ध गरेको थियो ।

हसन खानले २०१८ को पीएसएलमा क्वेट्टा ग्लाडिएटर्स र २०१९ मा लाहोर कलन्दर्सबाट खेलिसकेका छन् । हसनले २०१८ मा पाकिस्तान यु(१९ वर्ल्ड कप टिमको कप्तानीसमेत गरेका थिए ।

ईपीएलको आयोजकले सहभागी ६ वटै फ्रेन्चाइजलाई कम्तीमा ३ विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने नियम बनाएको छ । फ्रेन्चाइजले कम्तीमा तीन खेलाडीलाई प्लेइङ ११ मा समेत राख्नैपर्ने नियम छ ।

यस्तै ललितपुरले राष्ट्रिय टिमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ललाई नै टिमको कप्तान र मार्की खेलाडीमा यथावत राखेको छ ।

राजु बस्न्यात टिमको प्रशिक्षकको भूमिकामा छन् । चार विदेशी खेलाडीको अनुबन्धले आफू उत्साहित रहेको बस्न्यातले बताएका छन् । यसले आफ्नो टिम सन्तुलित रहेको र टिमबाट खुशी रहेको उनले बताए ।