ललितपुरमा मनाइयो सम्यक महादान पर्व
ललितपुर । यस वर्षको फागुण १४ र १५ गते ललितपुरको नागबहालमा सम्यक महादान पर्व मनाइएको छ । ललितपुरमा पाँच वर्षमा एकपटक हुने यो पर्व विगत सात सय वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । यस पर्वको पहिलो दिन राति काठमाडौं उपत्यकाका विभिन्न विहार र महाविहारबाट ल्याइएका १ सय २६ देवी देवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिएको थियो । त्यसपछि दिपंकर बुद्ध, आर्यावलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा लगायत देवीदेवताहरुलाई परम्परागत बाजागाजाका साथ नागबहालमा ल्याइएको थियो । र बिहिबार देवीदेवतालाई क्रमबद्ध राखेर महाविहारका २० जना ज्येष्ठ व्यक्ति अर्थात् आजुहरुले विशेष पुजा गरी दान दिने परम्परा छ । यही दान दिने कार्य नै पर्वको मुख्य सार हो ।
हरेक वर्ष सञ्चालन हुँदै आएको यो पर्व विसं १८६२ साल देखि भने पाँच वर्ष बिराएर सञ्चालन भएको हो । रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आयस्रोत कम भएपछि पाँच वर्षको एकपटक यो पर्व आयोजना गर्न थालिएको हो । विशेष गरी बौद्ध धर्मावलम्बीले भव्य रुपमा मनाउँदै आएको पर्व नेपाल संवत ७८७ भन्दा पहिलेदेखि सुरु भएको मानिन्छ । काठमाडौँमा १२ वर्षमा एकपटक स्वयम्भूको भुइख्याल, ललितपुरमा पाँच वर्षमा एकपटक नागबहाल र भक्तपुरमा प्रत्येक वर्ष पर्व मनाउँदै आइएको छ । यस दानमा दीपंकर बुद्धलगायतलाई भूमिमा उब्जाउ हुने अन्न, गेडागुडी, फलफूल र मिठाई दान दिने गरिन्छ ।
सम्यक महादान बुद्ध हुने बोधिसत्वहरूमा नभई नहुने १० पारमिता गुणमध्येको प्रथम दान पारमिता गुण पूरा गर्ने मार्ग हो । सम्यक दानमा गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ । यसरी दान गर्दा पुण्य प्राप्त हुने तथा बोधी ज्ञानको मार्गमा प्रतिष्ठित गरी निर्वाणमा र्पुयाउने, राग, द्वेष, लोभ आदि मारगुण नाश गरिदिने जनविश्वास रहँदै आएको छ।