तेस्रो मुलुकका पर्यटकका लागि स्थलमार्ग बन्द, पर्यटन क्षेत्र प्रभावित

maitrinews

 

काठमाडौं । नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन ।

स्थलमार्गबाट आउने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । यसले लुम्बिनी क्षेत्र सुनसान हुनेछ ।

भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिएको छ ।

यता, चीनतर्फको सीमा नाकासमेत बन्द छ । रसुवागढी नाका करीव एक महिनादेखि ठप्प छ । यो नाकाबाट पर्यटक नेपाल छिर्न पाएका छैनन् । यता, तातोपानी नाकासमेत बन्द भएका कारण अब दुबै देशबाट नेपाल प्रवेश गर्ने स्थलमार्ग बन्द भएको हो ।

भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपी आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।