कोरोना नेपाल छिर्न नदिन उच्च सावधानी

maitrinews

 

काठमाडौँ । सरकारले विश्‍वमा महामारीको रुप लिइरहेको कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिन उच्च सावधानी अपनाएको संसद्‍लाई जानकारी गराएको छ ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्‍त्री भानुभक्त ढकालले सरकारको तयारीबारे जानकारी गराउँदै पहिलो उद्देश्य नेपालभित्र कोरोना प्रवेश गर्न नदिने उद्देश्यले रहेको बताएका हुन् । ुपहिलो उद्देश्य नेपालभित्र कोरोना प्रवेश नहोस् भनेर उच्च सावधानी अपनाइरहेका छौुं, मन्‍त्री ढकालले भने ।

संक्रमणबाट जोगिन सर्वसाधरणसहित सबैले एकअर्कामा हात, गला नमिलाउने, निश्चित दूरीबाट नमस्कार गर्ने, साबुन पानीले राम्रोसँग हात धुने, खानेकुरामा पनि आवश्यक सावधानी अपनाउने र भीड हुने ठाउँमा नजाने जस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सांसदहरुले नेपाल कोरोना भाइरसको जोखिममा रहेको भन्दै सरकारको तयारीबारे जिज्ञासा राखेका थिए । जवाफमा स्वास्थ्यमन्त्री ढकालले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको बताए । ुहामीसँग करिब १ सय ७० आईसीयू सञ्चालनमा छन् । काठमाडौं उपत्यकाभित्र १ सय २० र काठमाडौं बाहिर १ सय १५ गरी २ सय ३५ आईसीयू तत्कालै व्यवस्था गर्ने काममा हामी जुटिसकेका छौुं, मन्‍त्री ढकालले भने, ु१ सय ५५ वटा आइसोलेटेड बेडहरु अहिले तयारी अवस्थामा छन् ।ु

संक्रमण फैलिएमा सबै अस्पतालमा संक्रमितलाई पठाउनेभन्दा पनि उपत्यकाका निश्‍चित तीन अस्पताललाई केन्द्रित गरेर प्राथमिकताका साथ उपचार गर्ने योजना रहेको उनले सुनाए । मन्‍त्री ढकालले औषधि र औजारहरु आवश्यक मात्रामा जोहो गर्ने कुरामा सरकार लागिसकेको पनि बताए ।

नेपालमा हालसम्म एक जनामा मात्रै कोरोना भाइरस देखिएको र ती व्यक्ति निको भइसकेको उनले उल्लेख गरे ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्‍वका अधिकांश मुलुकमा फैलिएको छ। आइतबार मध्याह्नसम्म विश्‍वमा कोरोना कीटाणु संक्रमणबाट ५ हजार ८३९ को मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ९ सय ३२ संक्रमित भएको वल्डोमिटरर्स इन्फोमा उल्लेख छ।