एसईई परीक्षा केन्द्र पुगेका प्रश्नपत्रको सुरक्षाको चिन्ता, डेरामा बसेका विद्यार्थी निराश भएर घर फर्किँदै

maitrinews

 

काठमाडौँ । आजबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएपछि परीक्षामा सहभागी हुनका लागि तयार भएका विद्यार्थीहरू निराश भएका छन् ।

विषेशगरि परीक्षा केन्द्रको नजिक डेरा लिएर बसिसकेका विद्यार्थीहरूले तयारी अनुसार परीक्षामा सहभागी हुन नपाएको भन्दै दुखेसो पोखेका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधवार एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

टाढा टाढाबाट भाडामा कोठा लिएर बस्न थालेको भए पनि घर फर्किनका लागि अब त्यतिकै हतार गर्नु पर्ने अवस्था सिर्जना भएको तिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक विद्यालय केन्द्रबाट परीक्षामा सहभागी हुन आएकी छात्रा मनीषा शाहीले बताइन् ।

परीक्षामा सहभागी हुने तयारी अनुसार कोठा भाडामा बसिसकेको अवस्थामा अन्तिममा आएर परीक्षा रोकिएको समाचार सुन्दा निकै पिर लागेको उनले बताइन् ।