कोरोना फैलिन नदिन भारतमा जनता कर्फ्यू

maitrinews

 

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशवासीसँग ‘जनता कर्फ्यू’ का दिन बिहान ७ बजेदेखि राती ९ बजेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । यतिबेला श्रीनगर र बेंगलुरुजस्ता शहरमा कफ्र्यू लागेको जस्तो स्थिती हुनेछ । प्रशासनले पनि यस्तै बयान दिएको छ । कश्मीरमा हिंस्रक घटनाको इतिहास भएकोले प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । यस्तै, बेंगलुरु पुलिसले अनावश्यक रुपमा घरबाट बाहिर निस्कनेलाई कारवाहीको चेतावनी दिएको छ । यद्यपी, दिल्ली पुलिसले कुनै प्रकारको कठोर कदम नलिइने र कुनै जरिवाना पनि नतोकिएको जानकारी दिएको छ ।

कश्मीरः मानिसहरुको ओहोरदोहोरमा प्रतिबन्धः

कश्मीरका इन्स्पेक्टर जनरल अफ पुलिस विजय कुमारले जनता कर्फ्यूको अपिल गरिएको बताउँदै कश्मीरमा मानिसहरुको ओहोरदोहोर र एक स्थानमा आवश्यकताभन्दा बढी व्यक्तिहरु जम्मा हुन प्रतिबन्ध लगाइने जानकारी दिए । यी प्रतिबन्धलाई कडा रुपमा लागू गर्न अतिरिक्त प्रहरी बल तैनाथ गरिने पनि उनले जानकारी दिए । कुमारले भने, ‘हामीले जनतालाई अपिल गरिरहेका छौं । यसलाई जनता कर्फ्यूको नाम दिइएता पनि कश्मीरको इतिहास यस्तो छ कि पुलिस र सुरक्षा बल तैनाथ नगरी हामी प्रतिबन्ध लागू गर्न सक्दैनौं ।’

बेंगलुरुः प्रहरी प्रमुखले भने, ‘बिना काम घरबाट बाहिर निस्कँदा कारवाही हुने’

बेंगलुरुका प्रहरी प्रमुख भास्कर रावले मानिसहरुलाई बिना काम वा अत्यावश्यक नभइकन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले भने, ‘बिना कारण घरबाट बाहिर निस्कनेलाई घातक रोगको संक्रमण फैलाउन लापरवाही गरेको र महामारीको आधारमा कारवाही गरिनेछ ।’

जनता कर्फ्यू नमान्नेलाई जरिवानको कुरा अफवाहः प्रहरी

दिल्ली पुलिसले आइतबार जनता कर्फ्यू लागू गर्नका लागि जरिवाना लगाउने कुनै आधिकारिक घोषणा नगरिएको जानकारी दिँदै यस्ता कुरालाई पूर्ण रुपमा अफवाह बताएका छन् ।