नेपालमा लकडाउन, आदेश पालना नगरे ६ महिनासम्म कैद

Mohan Bastola

काठमाडौँ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपाल सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा आजबाट लागु हुने गरी एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको हो । अब लकडाउनपछि आजबाट बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पाइने छैन । लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ–जाउ गर्न नदिन लकडाउन गरिन्छ । लकडाउन संक्रामक रोग ऐन–२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।