पार्टी कार्यकर्तालाई स्वयंसेवकको भूमिका निर्वाह गर्न नेकपाको निर्देशन

maitrinews

 

काठमाडौँ । नेकपाले पार्टीका जनवर्गीय संगठनहरुलाई कोरोनाभाइरसविरुद्ध स्वयंसेवकको भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

अध्यक्ष दवय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा संयुक्त पत्र जारी गरी यस्तो निर्देशन दिइएको हो।

आफूले पनि सावधानी अपनाउँदै हवाईमार्ग वा स्थलमार्गबाट आएका नजिकका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा रहन सघाउन कार्यकर्तालाई निर्देशन दिइएको छ।

कोरोनाभाइरसको लक्षण देखिएको व्यक्ति र उसँग सम्पर्कमा आएकाको बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिन, अभिलेख राख्न, ट्रेसिङ तयार गर्न तथा त्यस्ता व्यक्तिको स्वास्थ्य र उपचार कार्यमा सघाउन नेकपाले भनेको छ।

कोरोनाविरुद्ध भ्रम फैलाउने कार्य बन्द गर्न र यस्ता भ्रम छर्नेविरुद्ध सजग रहन पनि नेकपाले सबैलाई आग्रह गरेको छ।

सरकारले बेलैमा लकडाउनको निर्णय गरेकाले नेपालमा महामारीको रुप लिइनसकेको उसको ठहर छ। सीमित स्रोत र साधनका बीच सरकारले गरेका प्रयास सकारात्मक रहेको औंल्याउँदै नेकपाले सरकारका कदममा साथ दिन सबैलाई आग्रह गरेको छ।