हरेक मृत्युलाई कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयको आग्रह

maitrinews

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको ज्यान गए पनि कोरोनासँगै जोड्ने गरिएको भन्दै मन्त्रालयले सबै मृत्युलाई कोरोनासँग नजोड्न आग्रह गरेको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कोरोनाकै कारण मर्यो भन्ने हल्ला फैलाएका कारण मलामी नजाने गरेको खबर आएको भन्दै त्यसो नगर्न पनि आग्रह गर्नुभयो । उहाँले ५ देखि १० प्रतिशत नागरिकलाई मात्रै अस्तपालमा भर्ना गनुपर्ने भएकाले कारोनाका कारण ज्यान गुमाउनेको दर कम हुने बताउनुभयो । कुनै कारणवश ज्यान गए पनि कोरोनाकै कारण ज्यान गएको भन्ने भ्रम नराख्न आग्रह गरिएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमूना परीक्षण गरेकोमा पाँच जनामा मात्रै कोरोना पुष्टी भएको जानकारी दिनुभयो । यस्तै उहाँले चीनबाट ल्याइएको स्वास्थ्य परीक्षण लगायतका सामग्री सबै प्रदेशमा पुर्याइने बताउनुभयो ।

उहाँका अनुसार धनगढी, सुर्खेत र विराटनगरमा हेलिकोप्टरमार्फत सामग्री पुर्याइएको छ भने अरु जिल्लामा गाडीमार्फत सामग्री पठाइएको छ । यस्तै उहाँले कोरोनाको नमूना परीक्षण सबै प्रदेशमा पुर्याइने बताउनुभयो । धरानमा १९ वटा नमूना परीक्षण भइसकेको जानकारी दिँदै छिट्टै अरु प्रदेशमा पनि सेवा विस्तार गर्ने बताउनुभयो ।